गेजिङ, 09 अक्टोबर (हि.स.)। सिक्किम सरकार, श्रम विभागको ‘आँगनमा प्रशासन’ पहलअन्तर्गत गेजिङस्थित सामुदायिक भवनमा विशेष दर्ता शिविर तथा श्रमिक जागरुकता कार्यक्रम सम्पन्न भयो। सिक्किम श्रम (रोजगार तथा सेवा सर्तको नियमन) अधिनियम, २०२१ अन्तर्गत आयोजित कार्यक्रमको अध्यक्षता गेजिङका जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाले गरेको थियो। साथमा, गेजिङका पुलिस अधीक्षक छिरिङ शेर्पाको विशेष उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, गेजिङ जिल्ला श्रम कार्यालयले सिक्किम श्रम (रोजगार तथा सेवा शर्त नियमन) ऐन, २०२१ अनि भवन तथा अन्य निर्माण श्रमिक ऐन, १९९६ अन्तर्गत 'आँगनमा प्रशासन' पहलअन्तर्गत १२ सेप्टेम्बरदेखि २५ सेप्टेम्बर, २०२५ सम्म जिल्लाअन्तर्गतका सबै जीपीयूमा विशेष दर्ता शिविर तथा निरीक्षण सुरु गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल डेञ्जोङपाले श्रम विभागअन्तर्गतका योजनाहरूको प्रभावकारी कार्यान्वयन भइरहेकोमा सन्तोष व्यक्त गर्दै विभागका अधिकारी तथा कर्मचारीहरूको कामप्रति प्रशंसा व्यक्त गरे। साथै, अवैध रूपमा व्यापार सञ्चालन गर्नेहरूमाथि निगरानी गरी आवश्यक कारवाही गरिने बताए। उनले राज्यबाहिरबाट व्यापार-व्यवसाय गर्न आउनेहरूले स्थानीय नियम कानूनको पालना गरी अनुशासित रूपमा काम गर्नुपर्ने कुरामा जोड दिए।
उनले बालबालिकालाई श्रममा संलग्न गराउनु गैरकानुनी रहेको बताउँदै यस्तो कार्यमा संलग्न पाइएमा कडा कारबाही हुने चेतावनी पनि दिए। उनले जिल्लामा सरसफाइको महत्त्वमाथि पनि जोड दिएका थिए।
यसअघि, उप-श्रम आयुक्त वाईएन राणाले स्वागत सम्बोधनमा ‘आँगनमा प्रशासन’ पहलको उद्देश्यबारे जानकारी गराए। उनले समाजमा श्रमिकहरूको योगदान उच्च रहेको बताउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा कार्यक्रम प्रारम्भ गरिएको जानकारी गराए।
सहायक श्रम आयुक्त तिलकचन्द् शर्माले भवन तथा अन्य निर्माण मजदुर (बीओसीडब्ल्यू) को पञ्जीकरण प्रक्रिया र सिक्किम श्रम अधिनियम २०२१ का प्रमुख प्रावधानहरूबारे प्रकाश पारे। साथै, सिक्किम पसल तथा व्यावसायिक स्थापना ऐन १९८३ सम्बन्धी पनि जानकारी दिए।
सहायक श्रम आयुक्त सनमान सुब्बाले बीओसीडब्ल्यू कल्याण उपकर अधिनियम १९९६, श्रम स्वीकृति प्रमाणपत्र, बाल तथा किशोर श्रमिक उद्धार तथा पुनर्स्थापना र ई-श्रम पञ्जीकरणका प्रक्रिया र महत्त्वबारे विस्तृत जानकारी गराए। उनले गेजिङ जिल्लाका ३३ वटै ग्राम पञ्चायत एकाइमा यस्ता कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए। श्रमिकहरूका लागि श्रम पत्र (लेबर कार्ड) अनिवार्य रहेको र यसको आवेदन प्रक्रियाबारे स्पष्ट पारे।
पुलिस अधीक्षक छिरिङ शेर्पाले विदेशी श्रमिकहरूले राज्यमा काम गर्नुअघि अनिवार्य रूपमा इनर लाइन पर्मिट (आईएलपी) लिनुपर्ने र चेकपोस्टहरूमा आवश्यक दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जानकारी दिए। कार्यक्रममा खुल्ला विमर्श पनि गरिएको थियो भने प्रस्तुत जिज्ञासाहरूलाई सम्बन्धित अधिकारीहरूबाट स्पष्ट पारिएको थियो। श्रम निरीक्षक राम गुरुङद्वारा सञ्चालन गरिएको कार्यक्रम सोनामल्हामु लेप्चाद्वारा धन्यवाद ज्ञापन गरिएपछि समाप्त भयो।
हिन्दुस्थान समाचार / बिशाल