
सोरेङ, 5 नोभेम्बर (हि.स.)। च्याखुङ खेलमैदानमा चलिरहेको 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल प्रतियोगिताको आज सातौं दिन तेस्रो र चौथो क्वार्टरफाइनल खेल सम्पन्न भयो। आफ्ना प्रतिद्वन्दीहरूलाई पराजित गरेर मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।
तेस्रो क्वार्टर फाइनल खेल आज ब्रदरवुड एफसी, सिक्किम र खाव्जवल भेङ्गथर एफसी, मिजोरमबीच खेलियो, जसमा मिजोरम 1-0 ले विजयी बन्यो। यस खेलमा विजेता दलका खेलाड़ी रबिनलाई म्यान अफ् द म्याच चयन गरियो।
यसरी नै चौथो क्वार्टर फाइनल खेल सिक्किम पुलिस र याङथाङ युनाइटेड, गेजिङबीच सम्पन्न भयो, जसमा याङथाङ युनाइटेड 2-1 ले विजयी बन्यो। यस खेलमा विजेता दलका खेलाड़ी निरज कार्कीलाई म्यान अफ् द म्याच चयन गरियो।
आगामी 6 नोभेम्बरका दिन दुईवटै सेमिफाइनल खेलहरू खेलाइने छन्। पहिलो सेमिफाइनल खेल रेड पाण्डा एफसी, नाम्ची र सिङलिङ एससी, सोरेङबीच तथा दोस्रो सेमिफाइनल खेल खाव्जवल भेङ्गथर एफसी, मिजोरम र याङथाङ युनाइटेड, गेजिङबीच खेलिने छन्।
आज सामाजिक कार्यकर्ता विकास गोले मुख्य अतिथि थिए। यस अवसरमा मन्त्री भीमहाङ लिम्बू लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल