
कोलकाता, ६ नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा निर्वाचन आयोगद्वारा सञ्चालन गरिएको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानले पहिलो दुई दिनमै तीव्र रफ्तार लिएको छ। बुधबार राति १० बजेसम्म करिब १.१० करोडभन्दा बढी एनुमेरेसन फारम मतदातासम्म पुर्याइएका छन्।
आधिकारिक विवरणअनुसार, पहिलो दिन अर्थात् ४ नोभेम्बरमा करिब १८ लाख फारम वितरण गरिएको थियो, जबकि दोस्रो दिन ५ नोभेम्बरको बेलुकी ४ बजेसम्म यो संख्या बढेर ६६ लाख पुगिसकेको थियो। राति अबेरसम्म चलिरहेको वितरण अभियानपछि दुबै दिनको संयुक्त संख्या १.१० करोड नाघेको छ।
मुख्य निर्वाचन अधिकारीको कार्यालयका अनुसार, घर–घरमा पुग्ने क्रममा बुथ लेभल अफिसर (बीएलओ) र बुथ लेभल एजेन्ट (बीएलए) हरू निर्धारित कार्यक्रमअनुसार सक्रिय रहेका छन् र अभियान सुव्यवस्थित रूपमा अघि बढिरहेको छ। राति ८ बजेसम्म यो संख्या १ करोड १० लाखमा पुगेको बताइएको छ। आयोगले मतदान योग्य व्यक्तिसम्म फारम पुर्याउने र समयसीमाभित्र तथ्य सत्यापन सुनिश्चित गर्न निर्देशन दिएको छ।
राज्यभर हाल ८० हजार ६८१ बुथ लेभल अफिसर तैनाथ छन्, जबकि राष्ट्रिय र राज्यस्तरीय राजनीतिक दलका बुथ लेभल एजेन्टहरूको संख्या ७० हजारभन्दा बढी बताइन्छ। जिल्ला निर्वाचन अधिकारीहरूले सबै दलसँग हरेक बुथमा अधिकतम एक जना एजेन्ट मात्र नियुक्त गर्न अनुरोध दोहोर्याएका छन्, ताकि सत्यापन कार्यमा कुनै अवरोध नआओस्।
हाल पश्चिम बंगालमा जम्मा ७ करोड ६६ लाख ३७ हजार ५२९ दर्ता मतदाता छन् र यो अभियान सबै २९४ विधानसभा क्षेत्रमा सञ्चालन भइरहेको छ। वर्ष २००२ को अन्तिम व्यापक पुनरीक्षणमा सहभागी मतदाताहरूलाई केवल आवश्यक विवरण भरेर फारम बुझाउन अनुरोध गरिएको छ।
यसै क्रममा निर्वाचन आयोगको तीन सदस्यीय केन्द्रिय टोली ८ नोभेम्बरसम्म कूचबिहार, जलपाइगढ़ी र अलीपुरद्वार जिल्लाको भ्रमण गर्दै अभियानको प्रगति मूल्याङ्कन गर्नेछ। टोलीसँगै राज्यका मुख्य निर्वाचन अधिकारी मनोजकुमार अग्रवाल पनि रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी