बिहार विधानसभा चुनाउ : राम मन्दिरले उत्तर प्रदेशमा जातीय भित्ताहरू तोड्यो, अब बिहारमा सीताको पालो
Bihar election


— ‘राम–सीता’ का भावनात्मक लहरले तोड्नेछ चुनावी जातीय गणित

पटना/सीतामढी, ६ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको भव्य उद्घाटनले देशको राजनीतिमा नयाँ अध्याय शुरु गरिसकेको छ। अब त्यही लहर बिहारमा सीता मन्दिरको शिलान्यासका रूपमा देखिँदैछ। जहाँ भगवान् रामको जन्मभूमिले उत्तर प्रदेशको आस्थालाई जगाएको छ, त्यहाँ माता सीताको जन्मस्थली सीतामढीले बिहारको आत्मालाई। यही संगम, रामदेखि सीतासम्म — अब बिहार चुनाउ २०२५ को नयाँ कथा लेख्दैछ।

गत ८ अगस्टमा जब मुख्यमन्त्री नितीश कुमार र केन्द्रिय गृहमन्त्री अमित शाहसँगै सीता मन्दिरको शिलान्यास कार्यक्रममा एउटै मञ्च देखिए, धेरैले भने, यो केवल धार्मिक समारोह होइन, बिहार चुनाउ २०२५ को शुरुवात हो।

हिन्दुत्वको पुनर्स्थापना : बिहारमा धार्मिक गर्वको नयाँ विमर्श

अयोध्याको राम मन्दिरले उत्तर प्रदेशको राजनीतिमा हिन्दुत्वको भावनालाई नयाँ धार दिएको छ। अब भाजपा र जेडीयू मिलेर त्यही भावनात्मक लहरलाई बिहारमा फैलाउन जुटिरहेका छन्। जहाँ राम जन्मभूमि आन्दोलनले उत्तर भारतको राजनीतिलाई बदलिदियो, त्यहीँ अब सीता जन्मभूमिको नाममा बिहारमा ‘धार्मिक गौरव’ को नयाँ विमर्श निर्माण भइरहेको छ।

अमित शाहले शिलान्यास समारोहमा भनेका थिए, “राम बिना सीता अधूरो छन्, र भारत बिना बिहार अधूरो।” राजनीतिक विश्लेषकहरू यसलाई ‘रामदेखि सीतासम्म हिन्दुत्वको विस्तार रेखा’ का रूपमा हेरिरहेका छन्। भाजपा र उसका सहयोगी दलहरूले यस अभियानलाई नारी सम्मान, धर्म र राष्ट्रभक्तिको संगमका रूपमा प्रस्तुत गर्दैछन्।

नितीश कुमारको ‘सीता नीति’ : राजनीतिक सन्तुलनको प्रयास

मुख्यमन्त्री नितीश कुमार अमित शाहसँगै मञ्चमा थिए, तर उनीहरूको सन्देश फरक थियो। उनले भने, “माता सीताको भूमिको विकास नै साँचो श्रद्धा हो। यो मन्दिर धर्मको मात्रै होइन, विकासको प्रतीक बन्नेछ।” नितीशको यो भनाइलाई धेरैले ‘राजनीतिक सन्तुलन’ को प्रयासका रूपमा लिएका छन्। उनले हिन्दुत्वको लहरमा पूर्ण रूपमा नबहेर त्यसलाई संविधान र समरसतासँग जोड्ने प्रयास गरिरहेका छन्। तर भाजपा भने यसलाई आफ्नो विचारधाराको विस्तारको अवसरका रूपमा प्रयोग गर्न कुनै कसर बाँकी राख्न चाहँदैन।

तेजस्वीको प्रहार : आस्थामाथि राजनीति

सीता मन्दिरको मुद्दाले जहाँ एनडीएलाई नयाँ नैरेटिभ दिएको छ, त्यहाँ विपक्षले यसलाई ‘चुनावी चाल’ ठहर गरेको छ । राजदका नेता तेजस्वी यादवले भने, “जब बेरोजगारी, महँगी र पलायनको उत्तर दिन नसकिने हुन्छ, तब मन्दिर याद आउँछ। तर जमीनमा वास्तविकता फरक छ, बिहारका जनतामा राम र सीता दुवैसँग गहिरो भावनात्मक सम्बन्ध छ। सीतामढीदेखि अयोध्यासम्म हुने वार्षिक परिक्रमा यात्रामा लाखौँ श्रद्धालु सहभागी हुन्छन्। राजनीतिक विश्लेषकहरू भन्छन्, यो भावनात्मक सम्बन्धले चुनावी हावाको दिशा नै बदल्न सक्छ।

अयोध्या–सीतामढी आस्था यात्रा : राष्ट्र एकताको प्रतीक

भाजपाको प्रचार अभियानमा अहिले ‘रामराज्य’ र ‘जननी जन्मभूमि’ का नाराहरू प्रमुख छन्। भाजपा नेता तथा पूर्व केन्द्रिय मन्त्री अश्विनी चौबेले भने, अयोध्यामा राम मन्दिर बनेको छ, अब बिहारमा सीता मन्दिर बन्नेछ, यही राष्ट्रको पूर्णता हो। एनडीएले अयोध्यादेखि सीतामढीसम्मको आस्था यात्रालाई ‘राष्ट्र एकता’ सँग जोड्ने योजना बनाएको छ।

‘राम–सीता’ लहरले तोड्नेछ परम्परागत जातीय गणित

यो चुनाउ केवल जातीय समीकरणको होइन, आस्था र राष्ट्रिय गौरवको टकरावको प्रतीक बन्दैछ। तीन दशकदेखि बिहारको राजनीति जातीय समीकरणले नियन्त्रित रहँदै आएको छ, यादव, कुर्मी, पासवान, ब्राह्मण, भूमिहारका गणितले सत्ता निर्धारण गर्दै आएको छ। तर राम–सीता नाममा उठेको भावनात्मक लहरले यो परम्परागत गणितलाई तोड्न सक्छ।

राजनीतिक विश्लेषक बब्बन मिश्रका अनुसार, “राम मन्दिरले उत्तर प्रदेशमा जातीय भित्ताहरू तोड्यो, अब सीता मन्दिर बिहारमा त्यही काम गर्न सक्छ।”

बदलिँदैछ बिहारको चुनावी समीकरण

अयोध्या र सीतामढी दुबै ठाउँमा एउटै स्वर गुञ्जिन्छ, आस्था, पहिचान र एकताको पुकार। भाजपा यसलाई राष्ट्रभक्तिसँग जोड्दैछ भने नितीश विकास र संस्कृतिसँग। तर जे भए पनि २०२५ को बिहार चुनाउ अब केवल सत्ताको होइन, ‘संस्कृति बनाम समीकरण’ को चुनाउ बन्न गएको छ। रामदेखि सीतासम्मको यो यात्रा शायद तय गर्नेछ, के बिहार पनि अयोध्याको बाटोमा अघि बढ्नेछ?

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande