
गान्तोक, 06 नोभेम्बर (हि.स.)। रिकभरिङ युजर्स नेटवर्क (रन) ले राज्यमा चलिरहेको 'नशामुक्त सिक्किम अभियान' मा रिकभरिङ युजर्सलाई संलग्न नगराएकोमा प्रश्न उठाएको छ। रिकभरिङ युजर्सलाई संलग्न नगरि नशामुक्त सिक्किम अभियान सफल बन्ने कुरामा रनले शंका व्यक्त गरेको छ।
रनले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यस आसयको जानकारी गराएको हो। रनको नवगठित कार्यकारी समितिका पदाधिकारीहरूको परिचय गराउने आयोजित पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार केसी निमाले नशामुक्त सिक्किम अभियानमा नशाको चपेटबाट बाहिर निक्लिएर हाल सामान्य जीवन बिताइरहेका व्यक्तिहरू (रिकभरिङ युजर्स) लाई संलग्न नगरिएको जानकारी गराए। रिकभरिङ युजर्सलाई यस अभियानमा संलग्न गराए जनमानसमा नकारात्मक प्रभाव पर्छ भनेर उनीहरूलाई टाड़ा राखिएको हो भन्ने कुरा अघि आइरहेको उनले बताए।
उनले यस अभियानमा रिकभरिङ युजर्सलाई संलग्न गराए नकारात्मक प्रभाव पर्नुको सट्टा सकारात्मक प्रभाव पर्ने दाबी गरे। कुनै समय आफूहरू नशाको कुलतमा फसेर बाहिर निक्लिन कसरी सम्भव भयो र आज सामान्य जीवन बिताइरहेको अनुभव साझा गर्दा नशा गरिरहेका व्यक्तिहरूमा पक्कै पनि सकारात्मक प्रभाव पर्ने उनले बताए। उनले नशा गर्नेहरूलाई हामी पनि यस लतबाट बाहिर आउन सक्ने रहेछौं भन्ने प्रेरणा मिल्नेछ भने।
उनले भने, यदि हामी बोल्दा नकारात्मक सन्देश जान्छ भने हामी बोल्दैनौं। यस क्षेत्रमा काम गरेको आज 24 वर्ष भइसक्यो। नकारात्मक सन्देश जाने थियो भने आज राज्यका विभिन्न पुनर्वास केन्द्रहरूमा प्रवेश लिनेहरूको संख्या बढ्ने थिएन। उनले नशामुक्त अभियानलाई वास्तविकतामा उतार्नु हो भने रिकभरिङ युजर्सलाई साथमा लिएर काम गर्नैपर्छ भनी बताए। उनले सिक्किमलाई नशामुक्त बनाउने अभियानमा हामी पनि आफ्नो तर्फबाट केही योगदान दिन चाहन्छौं भने।
रनका नवनियुक्त अध्यक्ष आशिष तामाङले यस संस्थामा आफू नेता बनेर होइन, तर सेवक बनेर अघि आएको बताए। उनले नशाको कुलतबाट बाहिर आउन सम्भव छ सन्देश दिन र यससॅंग सम्बन्धित कलंकलाई हटाउन रनले काम गरिरहेको जानकारी गराए।
यसैगरी, महासचिव कर्म मिङ्ग्युरले आफूले पनि कुनै समय नशाको कुलतमा फसेको र सबैको सहयोग पाएपछि यसबाट बाहिर आउन सकेको बताए। नशाबाट बाहिर निक्लिएर सामान्य जीवन बिताउन सम्भव छ भन्ने सन्देश दिॅंदै रनले यस क्षेत्रमा काम गरिरहेको उनले बताए।
कोषाध्यक्ष दोर्जी भोटियाले यजरहरूलाई सहयोग गर्न रन सदैव तत्पर रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल