दार्जिलिङमा विज्ञान प्रदर्शनी समारोह सम्पन्न
दार्जिलिङमा विज्ञान प्रदर्शनी समारोह सम्पन्न


पहाड़बाट धेरै वैज्ञानिकहरू जन्मिने सम्भावना रहेको पाए: प्रो. आयन ब्यानर्जी

दार्जिलिङ, 8 नोभेम्बर (हि.स.)। संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रिय समिति अनि इण्डियन इस्टिट्यूट अफ् साइन्स एडुकेशन एण्ड रिसर्च, कोलकाताको संयुक्त आयोजन एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रायोजनमा हिजो अन्तरविद्यालय विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न गरियो। दार्जिलिङ जिल्ला अधिनस्थ विभिन्न क्षेत्रका कूल १५ वटा विद्यालयहरूले सहभागिता जनाएको उक्त विज्ञान प्रदर्शनी समारोहको अध्यक्षता रामकृष्ण शिक्षा परिषद्, दार्जिलिङका प्रधान अध्यापक डा. मिलन तामाङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जीटीएका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए।

उक्त प्रतियोगितामा क्रमैले सन्त रोबर्ट्स उच्चत्तर माध्यमिक विद्यालयले पियर्स चोइस, रामकृष्ण शिक्षा परिषद्ले भिजिटर्स चोइस, सेन्ट अल्फन्सस् स्कूल खरसाङले टीम वर्क, रेलिङ उच्चत्तर माध्यमिक विद्यालयले ओरिजिनल एनोभेसन, सिम्कुना साई उच्चत्तर माध्यमिक विद्यालयले प्रेजेन्टेशन एण्ड कम्युनिकेशन र मामरिङ तोर्योक उच्चत्तर माध्यमिक विद्यालयले बेस्ट एक्जिभिसन पुरस्कार प्राप्त गरे।

उक्त प्रदर्शनीलाई जीटीएका चीफ अनित थापाले उद्घाटन गरेका थिए। विज्ञान प्रदर्शनी कार्यक्रमको प्रशंसा गर्दै उनले उक्त विज्ञान प्रदर्शनीलाई सोच र खोजको उत्सव हो भनी बताए। विद्यार्थीहरूले प्रदर्शनीमा राखेका उक्त मोडेलहरूको मुग्ध कण्ठले प्रशंसा गर्दै जीटीए चीफले प्रदर्शनीको क्रममा विद्यार्थीहरूको नमूनाहरू हेर्दा विद्यार्थीरूलाई आफूले स-साना वैज्ञानिकहरूको रूपमा पाएको बताए। उनले यस प्रकारका कार्यक्रमहरूको आयोजन भइरहे एकदिन थुप्रै गोर्खे वैज्ञानिकहरू जन्मिने आशा पनि व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा इण्डियन इन्स्टिट्यूट अफ साइन्स, एडुकेशन एण्ड रिसर्चका प्रोफेसर आयन ब्यानर्जीले आजसम्म आफूहरूले आयोजन गरेका विज्ञान प्रदर्शनीहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शनी रहेको बताए। विद्यार्थीहरूले तयार पारेका सबै मोडेलहरू उत्कृष्ट अनि रचनात्मक रहेका र ती मोडेलहरू हेरिसकेपछि दार्जिलिङमा धेरै वैज्ञानिकहरू जन्मने सम्भावना रहेको बताए।

विज्ञान प्रदर्शनीमा भाग लिएका विद्यार्थीहरूलाई संयुक्त माध्यमिक शिक्षक संगठन अनि आईआईएसईआर कोलकाता दुवै संस्थाको तर्फबाट पारितोषिक अनि प्रमाणपत्रहरू प्रदान गरिएको थियो।

आयोजक समितिको पक्षमा संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रिय समितिका अध्यक्ष जोहन राईले दार्जिलिङ पहाड़मा धेरै मेधावी विद्यार्थीहरू भए तापनि उनीहरूको रचनात्मकता अनि वैज्ञानिक गुणहरूलाई देखाउने मञ्च नभएकोले नै आफूहरूले विज्ञानसित सम्बन्धित कोलकाताका प्रतिष्ठित संस्था आईआईएसईआरसित मिलेर उक्त प्रदर्शनी गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande