मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे
माउण्ट सिनाई एकेडेमीको रजत जयन्ती समारोह


सोरेङ, 17 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सोरेङ जिल्लाको जूमस्थित माउण्ट सिनाई एकेडेमीको रजत जयन्ती समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बने।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विद्यालयका प्रधानाध्यापकको समर्पणको सराहना गर्दै उनको शैक्षिक पृष्ठभूमिमाथि प्रकाश पारे अनि जनताको कल्याणप्रति उनको त्याग र प्रतिबद्धताको प्रशंसा गरे। यस क्षेत्रसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै यस ठाउँको आफ्नो सम्झनालाई अविस्मरणीय बताए। उनले विभिन्न क्षेत्रमा विद्यालय र यसका पूर्व विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गरे भने आकांक्षी व्यक्तिहरूलाई सरकारको सहयोगबारे जानकारी गराए। युवाहरूलाई प्रोत्साहन गर्दै उनले उनीहरूको प्रतिभा पहिचान गर्न र व्यक्तिगत विकास र क्षेत्रीय विकासमा प्रयोग गर्न आह्वान गरे।

मुख्यमन्त्रीले यस क्षेत्रको विकासका लागि सामूहिक प्रयास गर्न आग्रह गर्दै सरकारबाट आवश्यक र समयमै सहयोगको आश्वासन दिए। पूर्वाधार विकासको बारेमा बोल्दै उनले स्थानीय बासिन्दाहरूलाई उनीहरूको सहयोगको लागि धन्यवाद दिए। विभिन्न समुदायहरूले मनाउने विविध चाडपर्वहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै समुदायको संस्कृति र परम्पराको संरक्षण गर्ने सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गरे। उनले आफ्नो सम्बोधनमा माघे संक्रान्तिको समयमा आयोजना गरिने कार्यक्रमहरूको बारेमा जानकारी गराउॅंदै जनतालाई सरकारले प्रदान गरेको सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे।

कार्यक्रममा मुख्यमन्त्री र सालघारी जूमका विधायक मदन सिन्चुरीलाई विद्यालयको तर्फबाट सम्मानित गरियो। यसैगरी, विद्यालयद्वारा प्रवीण राई, डा. हेमलता राई, जय कुमार राई र सुष्मा मुखियालाई पनि सम्मानित गरियो। यस अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो।

कार्यक्रमको शुरुवातमा मुख्यमन्त्रीको बाहुलीद्वारा विद्यालयको विरासतको २५औं गौरवशाली वर्षको उत्सव मनाउन स्मारक पट्टिकाको अनावरण गरियो। मुख्यमन्त्रीले विद्यार्थीहरूद्वारा लगाइएका विज्ञान प्रदर्शनी एवं स्टलहरूको पनि भ्रमण गरेका थिए। कार्यक्रममा विधायक इरुङ तेन्जिङ लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, प्रेस सचिव युगेन तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande