काकोरीका अमर शहीदहरूलाई गृहमन्त्री अमित शाहसहित नेताहरूले नमन गरे
amit shah


नयाँ दिल्ली, १९ दिसम्बर (हि.स.)। स्वतन्त्रता संग्रामका क्रममा अंग्रेजविरुद्ध काकोरी ट्रेन काण्डका नायक पण्डित रामप्रसाद बिस्मिल, अशफाक उल्ला खान र ठाकुर रोशन सिंहको बलिदान दिवसको अवसरमा देशभरि उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। केन्द्रिय गृहमन्त्री अमित शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रासहित विभिन्न राज्यका मुख्यमन्त्रीहरूले यी अमर क्रान्तिकारीहरूको सर्वोच्च बलिदानलाई नमन गरे।

केन्द्रिय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै काकोरी ट्रेन एक्शनमार्फत यी वीरहरूले स्वतन्त्रता संग्रामलाई नयाँ ऊर्जा प्रदान गर्दै ब्रिटिश शासनको जग हल्लाइदिएको बताए। उनले देशका स्रोतसाधनमाथि देशवासीको अधिकार हुनुपर्छ भन्ने संकल्पलाई यी सेनानीहरूले साकार पारे र भावी पुस्ताका क्रान्तिकारीहरूका लागि साहस र पराक्रमको प्रेरणा बनेको उल्लेख गरे।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले तीनै शहीदहरूको साझा शहादतलाई नमन गर्दै गंगा–जमुनी संस्कृतिका साथै विविधतामा एकता नै भारतको आधार हो भनी बताए। उनले प्रत्येक विषयलाई साम्प्रदायिक दृष्टिले हेर्नेहरूले यी अमर शहीदहरूको साझा विरासतबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले रामप्रसाद बिस्मिल, अशफाक उल्ला खान र रोशन सिंहको शहादत हिन्दुस्तानको महान साझा विरासतको प्रतीक बताइन् जहाँ करोडौँ भारतीयहरूले मिलेर स्वतन्त्रताका लागि बलिदान दिएका थिए। उनले शहीदहरूको सपना स्वतन्त्रता, समानता, न्याय र भ्रातृत्वमा आधारित भारत निर्माण गर्ने रहेको र त्यसलाई साकार पार्नु नै सच्ची श्रद्धाञ्जली हुने बताइन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले काकोरी ट्रेन एक्शनलाई भारतको स्वाभिमानको अमर गुञ्जन बताउँदै यी क्रान्तिकारीहरूले मातृभूमिको सम्मान र स्वतन्त्रताका लागि आफ्नो सर्वस्व अर्पण गरेको उल्लेख गरे। उनले उनीहरूको विरासतले राष्ट्रहितलाई सर्वोपरि राख्ने प्रेरणा सधैँ दिइरहने बताए।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले परतन्त्रताका जंजीरले बाँधिएको भारतमा यी क्रान्तिदूतहरूले काकोरीको भूमिमा अंग्रेजी साम्राज्यको आधार हल्लाइदिएको बताएकी छन्। उनले उनीहरूको साहसले सुतेको राष्ट्रलाई जागृत गर्दै स्वतन्त्रता संग्रामको दिशा परिवर्तन गरेको बताएकी छन्।

मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले अमर शहीदहरूले मातृभूमिको स्वतन्त्रताका अटल संकल्पका लागि सर्वस्व न्योछावर गर्दै सम्पूर्ण राष्ट्रलाई जागृत गरेको र त्यसको ऋण देशले कहिल्यै चुकाउन नसक्ने बताएका छन्।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले पनि तीनै क्रान्तिकारीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रभक्ति र साहसले भरिएको उनीहरूको त्याग भावी पुस्ताका लागि सधैँ प्रेरणास्रोत रहने बताए

उल्लेखनीय छ, १९ दिसम्बर, १९२७ मा काकोरी रेल एक्शनका महानायक पण्डित रामप्रसाद बिस्मिललाई गोरखपुरमा, अशफाक उल्ला खानलाई फैजाबादमा र ठाकुर रोशन सिंहलाई प्रयागराजमा

फाँसी दिइएको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande