सड़क दुर्घटनामा घाइते उपचाराधिन मोटरसाइकल सवारको मृत्यु, एकजना घाइते
सड़क दुर्घटनामा घाइते उपचाराधिन मोटरसाइकल सवारको मृत्यु, एकजना घाइते


पश्चिम मेदिनीपुर, 25 दिसम्बर (हि. स.)। जिल्लाको दाँतन थाना क्षेत्रमा ड्यूटी सकिएर घर फर्किरहेका मोटरसाइकल सवार व्यक्तिको सड़क दुर्घटनामा परी मृत्यु भयो भने यस घटनामा एकजना घाइते भए। दुर्घटना गए बुधवार राती शालिकोट क्षेत्रमा भएको हो। मृतकको पहिचान दाँतन थाना अन्तर्गत उत्तर आड़बना गाउँ निवासी 39 वर्षीय स्वरूप कुमार गिरीको रूपमा भएको छ। दाँतन बिजुली विभागका कर्मचारी स्वरूपलाई दुर्घटनापछि गम्भीर घाइते अवस्थामा अस्पतालमा लगिएको थियो जहाँ तिनको बिहीवार अपरान्ह उपचारको क्रममा मृत्यु भयो। दोस्रो मोटरसाइकल सवारको अवस्था भने अहिले पनि गम्भीरै रहेको बताइन्छ।

स्थानीय सूत्र अनुसार गए बुधवार अबेर राती ड्यूटी सिद्ध्याएर स्वरूप आफ्नो मोटरसाइकल मार्फत घर फर्किरहेका थिए। यसै क्रममा विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकलसित तिनको मोटरसाइकल ठोक्कियो। दुर्घटनामा दुवै मोटरसाइकल सवार गम्भीर रूपमा घाइते भए। घटना भएको तुरून्तैपछि स्थानीय मानिसहरू अनि पुलिसको सहयोगमा दुवलाई दाँतन ग्रामीण अस्पतालमा पुऱ्याइयो जहाँ बिहीवार अपरान्ह चिकित्सकहरूले स्वरूप कुमारलाई मृत घोषित गरिदिए।

घटनाको सूचना पाए लगत्तै दाँतन थानाको पुलिस अस्पतालमा पुग्यो। बिहीवार मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदिएको छ। पुलिसले दुर्घटनाग्रस्त दुवै मोटरसाइकललाई जफत गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande