मिरिकमा खरसाङका साहित्यकार एवं कथाकार निरङ्कर थापालाई चौथो शशिप्रभा स्मृति पुरस्कार प्रदान
सम्मान कार्यक्रम


मिरिक, 27 दिसम्बर (हि.स.)। मिरिकको एक साहित्यिक कार्यक्रममा खरसाङका साहित्यकार एवं कथाकार निरङ्कर थापालाई चौथो शशिप्रभा स्मृति पुरस्कार 2025 प्रदान गरिएको छ। साहित्य सुनौँ परिवार मिरिक र रिपोर्टर्स क्लब मिरिकको आयोजना सम्पन्न उक्त कार्यक्रममा उनलाई उनको उपन्यास कृति 'मार्साङ' को लागि उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार स्वरुप उनलाई टोपी पहिराएर, दोसल्ला ओढाएर साथै स्मृति चिन्ह र नगदराशि पचास हजार रुपियाँ पनि प्रदान गरियो।

उक्त चौथो शशिप्रभा स्मृति पुरस्कार अलङ्करण समारोहको अध्यक्षता साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष अमर दुङमाली राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्राध्यापक डा कबीर बस्नेत उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा, गोर्खा जनपुस्तकालय खरसाङका सचिव एवं कवि विनोद रसाइली, जुरी सदस्य अरुणचन्द्र कुलुङ, साहित्यकार राजबहादुर राई लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रममा शशिप्रभा स्मृति पुरस्कारको प्रायोजक एवं वरिष्ठ साहित्यकार बिजय बान्तावा कैलाशीले आफ्नी पत्नी शशिप्रभाको स्मृतिमा पुरस्कार शुरु गरिएको र यसलाई निरन्तर रुपमा विवादरहित बनाउन कार्य गरिएको बताए। यसै कार्यक्रम अन्तर्गत कवि गोष्ठीको पनि आयोजना गरिएको थियो, जसमा कविहरु क्रमैले महेन्द्र स्याङ्बो, शरद सुब्बा, पी लक्की शेर्पा, कविता राई 'गाउँले', विनोद रसाइली, सबीर दिलपाली, शान्ता प्रकाश राई र पवित्र लामाले कविताहरु पठन गरेका थिए। यस अवसरमा साहित्य सुनौँ मिरिकको पत्रिका 'सन्दुक' को पनि अतिथिहरुका बाहुलीबाट लोकार्पण गरियो।

कार्यक्रममा पुरस्कार प्राप्त निरङ्कर थापाको उपन्यास 'मार्साङ' माथि प्रवेस हाङखिमले टिप्पणी राखेका थिए। कार्यक्रममा चौथो शशिप्रभा स्मृति पुरस्कार प्रापक कथाकार निरङ्कर थापाले आफ्नो सम्बोधनमा पुरस्कारले अझ लेख्नु पर्ने दायित्व थपिएको बताउँदै पुरस्कारको लागि धन्यवाद दिए।

कार्यक्रमलाई प्रमुख अतिथि प्राध्यापक डा कबीर बस्नेत, सभाध्यक्ष अमर दुङमाली र जुरी सदस्य अरुणचन्द्र कुलुङले पनि सम्बोधन गरेका थिए।

उल्लेखनीय छ, बिजय बान्तावा कैलाशीले आफ्नी पत्नी शशिप्रभा बान्तावाको नाममा विगत चार वर्षदेखि शशिप्रभा स्मृति पुरस्कार शुरु गरेका हुन्। यसपाली पुरस्कारको लागि आएका 65 वटा कृतिहरुमा 10 वटा चयन भएका थिए। यसबाट तीनजना जुरीहरु क्रमैले डा सञ्जय बान्तावा, प्राध्यापक मेघनाथ छेत्री र अरुणचन्द्र कुलुङले खरसाङका साहित्यकार निरङ्कर थापाद्वारा लिखित उपन्यास 'मार्साङ' लाई पुरस्कारको लागि चयन गरे। साहित्यकार निरङ्कर थापाको पहिलेबाटै कथा संग्रहहरु क्रमैले 'पछि फर्केर हेर्दा'(2013), 'झरेको फूल' (2015), 'एक छिमल जीवन' र 'मोह रंग' (दुवै 2018) प्रकाशित छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande