
ढाका, 30 दिसम्बर (हि.स.)। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष तथा देशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाले आफु पछाडि सशक्त राजनीतिक विरासत छाडेर गएकी छन्। उनको आज बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भयो। बीएनपीको आधिकारिक फेसबुक पेजमा जनाइएअनुसार, “खालिदा जियाको निधन बिहान लगभग ६ बजी फज्रको नमाज सम्पन्न भएपछि भयो।” बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले पनि उनको निधनको पुष्टि गरेका छन्।
द डेली स्टार पत्रिकाको रिपोर्टअनुसार, ८० वर्षीया खालिदा जियालाई २३ नोभेम्बरमा एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो। उनी मुटु र फोक्सोको सङ्क्रमणबाट पीडित थिइन् र निमोनियासँग पनि जुधिरहेकी थिइन्। यसै वर्ष ६ मईमा एभान्स मेडिकल केयरका लागि लण्डन गएर फर्किएपछि उनको नियमित स्वास्थ्य परीक्षण एभरकेयर अस्पतालमै हुँदै आएको थियो। १९९१ को आम निर्वाचनमा विजय हासिल गरेपछि उनले देशको नेतृत्व सम्हालेकी थिइन्।
उनले छोरा तारिक रहमान, बुहारी तथा नातिनीलाई पछाडि छाडेर गएकी छिन्। तारिक रहमान १७ वर्षको निर्वासनपछि २५ दिसम्बरमा बंगलादेश फर्किएका थिए। खालिदाका कान्छा छोरा अराफात रहमान कोकोको केही वर्षअघि मलेसियामा निधन भइसकेको छ। पूर्व प्रधानमन्त्रीलाई ८ फरवरी, २०१८ मा भ्रष्टाचारसम्बन्धी एक मुद्दामा जेल सजाय सुनाइएको थियो। कोरोना महामारीको समयमा २५ मार्च, २०२० मा केही सर्तसहित उनलाई अस्थायी रिहाई दिइएको थियो।
खालिदा जियाको जन्म सन् १९४५ मा जलपाइगढीमा भएको थियो। प्रारम्भिक शिक्षा उनले दिनाजपुर मिशनरी स्कूलमा लिएकी थिइन् र सन् १९६० मा दिनाजपुर गर्ल्स स्कूलबाट म्याट्रिक उत्तीर्ण गरेकी थिइन्। उनका पिता इस्कन्दर मजुमदार व्यवसायी थिए भने माता तैयबा मजुमदार गृहिणी थिइन्। ‘पुतुल’ को नामले परिचित खालिदा तीन दिदीबहिनी र दुई दाजुभाइमध्ये दोस्रो सन्तान थिइन्।
सन् १९६० मा उनको विवाह जिया–उर–रहमानसँग भएको थियो, जो पाकिस्तान सेनामा क्याप्टेन थिए। सन् १९७१ को मुक्ति युद्धका क्रममा जिया–उर–रहमानले विद्रोह गर्दै युद्धमा सक्रिय सहभागिता जनाएका थिए। ३० मई, १९८१ मा जिया–उर–रहमानको हत्या भएपछि बीएनपी गम्भीर संकटमा परेको थियो। त्यही कठिन समयमा खालिदा जिया पार्टीमा सक्रिय भइन् र १२ जनवरी, १९८४ मा उपाध्यक्ष बनिन्। १० मई १९८४ मा उहाँ पार्टी अध्यक्षमा निर्वाचित भइन्।
खालिदा जियाको नेतृत्वमा बीएनपीले सन् १९८३ मा विभिन्न दलहरूसँग गठबन्धन गर्दै इरशादको तानाशाही शासनविरुद्ध आन्दोलन शुरु गर्यो। जोखिमको बावजुद उनले आन्दोलन निरन्तर जारी राखिन्। सन् १९९१ को निर्वाचनमा बीएनपी एकल बहुमतसहित विजयी भयो। खालिदाले लगातार तीन संसदीय निर्वाचनमा पाँच–पाँच स्थानबाट उम्मेदवारी दिई सबै स्थानमा विजय हासिल गरिन्। २० मार्च, १९९१ मा उनले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ लिइन्।
खालिदा १५ फरवरी, १९९६ मा सम्पन्न आम निर्वाचनमा विजयपछि दोस्रो पटक प्रधानमन्त्री बनिन्। यद्यपि, उक्त निर्वाचनलाई प्रमुख विपक्षी दलहरूले बहिष्कार गरेका थिए। त्यसपछि निष्पक्ष कार्यवाहक सरकारको व्यवस्था गर्न संविधान संशोधन गरियो र संसद विघटन भयो। ३० मार्च, १९९६ मा खालिदा जियाले सत्ता कार्यवाहक सरकारलाई सुम्पिन्। १२ जून, १९९६ मा जस्टिस मोहम्मद हबीबुर रहमानको नेतृत्वमा सम्पन्न निर्वाचनमा बीएनपी अवामी लिगसँग पराजित भयो। १९९६–२००१ को अवधिमा खालिदा जिया राष्ट्रिय संसदमा विपक्षी दलकी नेता रहिन्।
१ अक्टोबर, २००१ मा जस्टिस लतीफुर रहमानको नेतृत्वमा भएको निर्वाचनमा बीएनपी नेतृत्वको चार दलको गठबन्धनले दुई–तिहाइभन्दा बढी सिट जित्यो। १० अक्टोबर, २००१ मा खालिदा जियाले तेस्रो पटक प्रधानमन्त्रीको रूपमा शपथ लिइन्। सन् २००७ मा सेना समर्थित कार्यवाहक सरकारले सत्ता सम्हालेपछि उनी लगायत अवामी लिग अध्यक्ष शेख हसिनासहित अन्य नेताहरूलाई जेल हालियो। पछि रिहा भई २००८ को निर्वाचनमा सहभागी भइन्, तर बीएनपी पराजित भयो।
२०१४ को संसदीय निर्वाचनमा बीएनपी सहभागी भएन र सन् १९९१ पछि पहिलो पटक संसदबाहिर रहन बाध्य भयो। ८ फरवरी, २०१८ मा ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्ट भ्रष्टाचार मुद्दामा उनलाई पाँच वर्षको जेल सजाय सुनायो, जुन पछि उच्च अदालतले बढाएर १० वर्ष पुर्यायो। पछि जिया च्यारिटेबल ट्रस्ट भ्रष्टाचार मुद्दामा पनि उनलाई दोषी ठहराइयो।
कोरोना महामारीका बेला तत्कालीन अवामी लिग सरकारले २५ मार्च, २०२० मा कार्यकारी आदेशमार्फत उनलाई अस्थायी रूपमा रिहा गर्यो। सर्तअनुसार उनी गुलशनस्थित आफ्नै निवासमा रहने र देश नछोड्ने व्यवस्था गरिएको थियो। यसै वर्ष ६ अगस्तमा बीएनपी प्रमुख खालिदा जियालाई पूर्ण रूपमा रिहा गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी