बंगलादेशको राजनीति खालिदा र हसिनाको वरिपरि घुमिरह्यो
Sheikh Hasina and Khalid jia


ढाका, 30 दिसम्बर (हि.स.)। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जियाले आज बिहान ढाकास्थित एभरकेयर अस्पतालमा अन्तिम सास लिइन्। उनको राजनीतिक जीवन उतार–चढावले भरिएको रह्यो। खालिदा जिया सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ सम्म बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनी पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन्। उनका जेठा छोरा तारिक रहमान हाल बीएनपीका कार्यकारी अध्यक्ष हुन्।

बंगलादेशको राजनीति लामो समयदेखि दुई महिला नेतृहरूको वरिपरि केन्द्रित रहँदै आएको छ। ती हुन्, अवामी लिगकी शेख हसिना र बीएनपीकी खालिदा जिया। शुरुमा दुवै नेतृ मित्र थिइन्।

शेख हसिनाको सरकार तख्तापलटपछि पतन भइसकेको छ र उनले देश छोडिसकेकी छन्। सन् १९८० को दशकमा बंगलादेशमा सैनिक शासन कायम थियो। त्यस समय सैनिक शासनविरुद्ध शेख हसिना र खालिदा जिया सडकमा सँगसँगै आन्दोलन गर्थे। सन् १९९० मा तानाशाह इरशादको पतनपछि देशमा लोकतन्त्र पुनःस्थापित भयो। सन् १९९१ को आम निर्वाचनमा खालिदा जिया विजयी भइन्। त्यसपछि खालिदा र शेख हसिनाबीचको राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गयो।

सन् १९९० पछि बंगलादेशमा भएका प्रायः सबै निर्वाचनमा सत्ता या त खालिदा जियाको हातमा गयो वा शेख हसिनाको। सञ्चारमाध्यमहरूले यसलाई ‘बैटल अफ बेगम्स’ अर्थात् ‘दुई बेगमहरूको लडाइँ’ को संज्ञा दिएका थिए।

खालिदा जियाको जन्म १५ अगस्त, १९४५ मा अविभाजित भारतको दिनाजपुर जिल्लाको जलपाइगढीमा एक सामान्य परिवारमा भएको थियो। उनी कुनै राजनीतिक परिवारबाट आएकी थिइनन्। सन् १९६० मा उनको विवाह सैनिक अधिकारी जिया–उर–रहमानसँग भयो। सन् १९७१ मा बंगलादेशको मुक्ति युद्ध शुरु भयो। यस क्रममा शेख हसिनाका पिता शेख मुजीबुर रहमानलाई पक्राउ गरियो। यही समयमा जिया–उर–रहमानले रेडियोमार्फत घोषणा गर्दै आफू ‘स्वतन्त्र बंगलादेश’ को पक्षमा लडिरहेको बताएका थिए।

युद्ध समाप्त भएपछि बंगलादेश स्वतन्त्र राष्ट्र बनेपछि जिया–उर–रहमान पुनः सेनामा फर्किए र उच्च पदमा पुगे। समयसँगै उनी राजनीतिक रूपमा पनि प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भए। सन् १९७५ मा शेख मुजीबुर रहमान र उनको परिवारको हत्या भएपछि देशमा लगातार तख्तापलट हुन थाले। सेनाभित्रको गुटबन्दी यति तीव्र भयो कि केही महिनामै पटक–पटक सत्ता परिवर्तन भयो।

यस अस्थिर परिस्थितिमा जिया–उर–रहमान क्रमशः सबैभन्दा शक्तिशाली सैनिक नेताका रूपमा उदाए र सन् १९७७ मा बंगलादेशका राष्ट्रपति बने। सत्ता सम्हालिसकेपछि उनले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) नामक नयाँ राजनीतिक दल स्थापना गरे। आज यही पार्टी उनका छोरा तारिक रहमानको नेतृत्वमा सञ्चालन हुँदै आएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande