नयाँ दिल्ली, 29 मार्च (हि.स.)। भूकम्प प्रभावित म्यानमारलाई सहयोग गर्न भारतले आफ्नो 'अपरेशन ब्रह्मा' अन्तर्गत शनिवार याङ्गुनमा 15 टन राहत सामग्री पुर्याएको छ। भारतीय वायुसेनाको सी-130जे विमान यो राहत सामग्री लिएर शनिवार याङ्गुन पुगेको छ। यसमा पाल, कम्बल, स्लीपिङ ब्याग, खानाका प्याकेट, स्वच्छता किट, जेनेरेटर र आवश्यक औषधिहरू समावेश छन्।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक्समा लेखेका छन्, 'अपरेशन ब्रह्मा- भारत हिजोको विनाशकारी भूकम्पबाट प्रभावित म्यानमारका जनतालाई सहयोग गर्न पहिलो प्रतिक्रियाकर्ताको रूपमा काम गर्दछ। पाल, कम्बल, स्लीपिङ ब्याग, खानाका प्याकेट, स्वच्छता किट, जेनेरेटर र आवश्यक औषधिहरू सहित 15 टन राहत सामग्रीको हाम्रो पहिलो खेप याङ्गुनमा अवतरण भएको छ।' याङ्गुनमा राजदूत अभय ठाकुरले औपचारिक रूपमा याङ्गुनका मुख्यमन्त्री यू सोई थीनलाई राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको उनले बताएका छन्।
यसअघि विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमा यो जानकारी साझा गर्दै भारतबाट मानवीय सहायताको पहिलो खेप म्यानमारको याङ्गुन विमानस्थलमा पुगेको जानकारी गराएका थिए। उनले लेखेका छन्, 'आईएएफ विमान सी-130जे द्वारा पठाइएको म्यानमारका जनताका लागि तत्काल मानवीय सहयोगको पहिलो खेपमा कम्बल, तिरपाल, स्वच्छता किट, स्लीपिङ ब्याग, सोलर ल्याम्प, खानाका प्याकेट र भान्सा सेटहरू छन्। यस उडानमा खोज तथा उद्धार टोली र चिकित्सा टोली पनि साथमा छन्। हामी घटनाक्रमको अनुगमन गरिरहनेछौं र थप सहयोग पठाइनेछ।'
उल्लेखनीय छ, शुक्रवार म्यानमारमा 7.7 तीव्रताको भूकम्प गएको थियो, जसले छिमेकी थाइल्याण्ड पनि हल्लाएको थियो। म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी अहिलेसम्म 694 जनाको मृत्यु भएको छ भने 1600 भन्दा बढी घाइते भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी