खरसाङ, 31 मार्च (हि.स.)। खरसाङ नगरपालिकाद्वारा वार्ड नम्बर 19 अन्तर्गत क्याम्प साइडको फुटपाथलाई जीर्णोद्धार कार्य एवं पुरानो सीआई अफिस क्याम्प साइट ग्राम गाडी जाने बाटोको जीर्णोद्धार कार्यको निम्ति आज शिलान्यास गरिएको छ। उक्त शिलान्यासको कार्य खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरूङ एवं एसएई बिशाल सुनवारको उपस्थितिमा गरियो।
यस अवसरमा विधिवत रूपमा पूजा-पाठ गरेर ठेकेदार सोनाम भोटिया र शरद प्रधानले उक्त कार्यको थालनी गरे। त्यसरी नै खरसाङ नगरपालिकाद्वारा वार्ड नम्बर 18 मा आइतवार नयाँ बाटो निर्माणको कार्य शुरु गरिएको छ। यसका साथै खरसाङ नगरपालिकाको वार्ड नम्बर 19 मा कोर्ट जाने बाटो र धोबी खोला क्षेत्रमा पनि शिलान्यास गरेर बाटो निर्माणको कार्य शुरु गरिने भएको जानकारी प्राप्त भएको छ।
खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनद्वारा वार्ड नम्बर 18 मा सिमेन्टको बाटो निर्माणको कार्य शुरु गरिएको बताए। यसका साथै उनले वार्ड नम्बर 19 मा कोर्ट जाने बाटो शिलान्यास गरेर निर्माण कार्य शुरु गरिने अनि धोबी खोला क्षेत्रमा पनि बाटो निर्माणको कार्य शुरु गरिने बताएका छन्। भाइस चेयरम्यान प्रधानले बाटो निर्माणको कार्यमा स्थानीय सबैको साथ र सहयोगको अपेक्षा गर्दै बाटो निर्माणको कार्य गुणस्तरको हुनुपर्ने कुरामा जोड दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक