गान्तोक, 15 अप्रेल (हि.स.)। सोरेङ जिल्लाको जुम सालघारी निर्वाचन क्षेत्र अन्तर्गत सावलीगाउॅं सरकारी माध्यामिक विद्यालयको स्वर्ण जयन्ती समारोह आज विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ समापन भयो। गत 7 अप्रेलदेखि शुरू भएको स्वर्ण जयन्ती समारोहको आज समापन भएको छ। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, शिक्षा विभागका मन्त्री राजु बस्नेत, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले 1975 सालमा स्थापित सावलीगाउॅं माध्यामिक विद्यालयको स्वर्ण जयन्ती समारोहको स्कूल प्रबन्धन पक्ष, शिक्षक शिक्षिका, विद्यार्थी, अभिभावक लगायत स्कूल स्थापनामा योगदान दिने समस्त व्यक्तिहरूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। यहाँका जनताले 1994 मा आफ्नो बहुमूल्य भोट दिएर आफूलाई पहिलो विधायक चुनेको उल्लेख गर्दै त्यसपछि 1999 मा पनि च्याखुङ निर्वाचन क्षेत्रबाट पुन: विजयी बनेर मन्त्री बनेको मुख्यमन्त्रीले स्मरण गरे।
यसैगरी, 2004 को चुनाउमा पनि आफूलाई सेन्ट्रल पाण्डमबाट पार्टीले टिकट दिए तापनि च्याखुङका जनताले च्याखुङ समष्टिबाटै टिकट दिनुपर्ने माग गरेपछि आफूलाई तेस्रोपल्ट यो क्षेत्रबाट चुनाउमा जिताएर विधायक र मन्त्री बनाएको उनले बताए। उनले 15 वर्ष यस निर्वाचन क्षेत्रमा रहेर जनताको सेवा गर्ने आफूले मौका पाएको बताए। यसैगरी 2019 मा एसकेएम उम्मेदवार सुनिता गजमेर र 2024 को चुनाउमा मदन सिन्चुरीलाई जिताएर आफूहरूमाथि क्षेत्रका जनताले ठूलो गुण लगाएको बताउॅंदै उनले क्षेत्रवासीहरूलाई धन्यवाद दिए।
मुख्यमन्त्रीले 2019 मा एसकेएम पार्टी सरकारमा आएपछि राज्यको शिक्षा व्यवस्थालाई सुदृढ बनाउने दिशामा काम गर्दै आएको अवगत गराए। उनले यो स्कूलको कक्षा कोठा र प्रेक्षागृहको निम्ति अघिबाटै सरकारले कोष आवण्टन गरिसकेको जानकारी गराए। यहाँको विभिन्न ग्राम पञ्चायत क्षेत्रमा पिउने पानीको समस्या रहेको उल्लेख गर्दै पानीको समस्या समाधान गर्न सरकारले योजनावद्ध रूपमा काम गरिरहेको बताए।
जोरथाङ बजारमा विभिन्न विकासीय पूर्वाधार निर्माणका कामहरू धमाधम भइरहेको छ भन्दै मुख्यमन्त्रीले गेलिङ ज्ञानदिल धाम निर्माण कार्यको पनि जानकारी गराए। उनले च्याखुङको आँगने ढुंगालाई पर्यटन स्थलको रूपमा परिणत गर्ने योजना रहेको उल्लेख गर्दै सिङसोर पुलमा बञ्जी जम्पिङको शुरूवात भएको बताए। यसरी नै उनले जोरथाङको कर्फेक्टारमा कल्चर भिलेज निर्माण गरिने जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल