खरसाङ, 17 अप्रेल (हि.स.)। केही दिनअघि परेको पानीले खरसाङको वार्ड नम्बर 3 कटलेरी क्षेत्रमा पैह्रो गएर एउटा पुल धस्केकाले अहिले रोड बन्द भएर स्थानीयहरुलाई धेरै असुविधा भइरहेको छ। यस असुविधालाई ध्यानमा राखेर खरसाङको वार्ड नम्बर 3 कटलेरी क्षेत्रका स्थानीय मानिसहरु आज गुहार लगाउॅंदै खरसाङ नगरपालिका पुगे।
नगराध्यक्ष ब्रिगेन गुरूङ कार्यालयमा अनुपस्थित रहेकाले उपाध्यक्ष सुवास प्रधान, एफओ याङ्जी शेर्पा साथै छोटा बाबु रवि प्रधानको उपस्थितिमा झट्टै बाटोको देवल निर्माण गरिदिने आह्वान् कटलेरीवासीले गरेका छन्। गत 15 अप्रेलको दिन परेको पानीले कटलेरी क्षेत्रमा पैह्रो जानुका साथै पुल धस्किएकाले अहिले रोड बन्द भएको छ। यस कारण स्थानीय मानिसहरु, विद्यार्थीहरु लगायत पर्यटकहरुलाई धेरै असुविधा भइरहेको उनीहरूले अवगत गराए।
स्थानीय मानिसहरुको उक्त समस्याहरु सुनेपछि खरसाङ नगरपालिकाको पक्षमा भाइस चेयरम्यान सुवास प्रधानले यस पैह्रो क्षेत्र र पुल झट्टै मरमत्तिको लागि पहल गरिएको दरती राईले जानकारी गराइन्। उनले खरसाड नगरपालिका अन्तर्गत वार्ड नम्बर 3 कटलेरीको गाडी कुद्ने बाटो धस्किएर दुईवटा घरलाई क्षति हुने स्थिति लगायत अन्य समस्याहरूको उल्लेख गर्दै नगरपालिकामा अनुरोध पत्र दिइएको बताइन्। उनले स्थानीय मानिसहरुको समस्या समाधान नभए जनताले कुन बाटो अप्नाउनु पर्ने हो भनी प्रश्न गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक