खरसाङको पुष्पारानी विद्यालयका विद्यार्थीहरुले दार्जिलिङ हिमालयन रेलवेको निःशुल्क यात्रा गरे
खरसाङको पुष्पारानी विद्यालयका विद्यार्थीहरुले दार्जिलिङ हिमालयन रेलवेको निःशुल्क यात्रा गरे


खरसाङ, 19 अप्रेल (हि.स.)। खरसाङको पुष्पारानी विद्यालयका विद्यार्थीहरुलाई दार्जिलिङ हिमालयन रेलवेले आज निःशुल्क यात्रा गराएको छ। शनिवार शिक्षकहरू राजु ठटाल, विश्वनाथ राई अनि शिक्षिका ज्योत्सना लामाको अगुवाईमा पाँचौंदेखि दशौं श्रेणीसम्मका जम्मा 22 जना विद्यार्थीहरूले टोय ट्रेनको यात्रा गर्ने मौका पाए।

यस अवसरमा विद्यार्थीहरुले खरसाङदेखि महानदीसम्म अनि महानदीदेखि पुन: खरसाङसम्मको यात्रा गरेर टोय ट्रेनको यात्राको आनन्द उठाएका छन्। पुष्पारानी विद्यालयका शिक्षकहरूले विद्यालयका प्रधान अध्यापिका ललिता भण्डारीसँग विद्यार्थीहरुलाई रेल यात्रा गराउने अनि टोय ट्रेनको अनुभव दिलाउने इच्छा विषय कुरा उठाएका थिए। प्रधान अध्यापिका भण्डारीले पनि दार्जिलिङ हिमालयन रेलवेका अधिकारीसँग विद्यार्थीलाई सानो रेलको यात्राको अनुभूति दिलाउन रेलवेलाई सहयोग मागिन्।

नभन्दै रेलवेले पनि विद्यालयका 30 जनासम्म विद्यार्थीलाई निःशुल्क सानो रेलमा यात्रा गराउने अनुमति दियो। विद्यालयलका विद्यार्थीहरूले टोय ट्रेनको यात्रा गराएरकोमा दार्जिलिङ हिमालयन रेलवे, खरसाङ अनि विद्यालयकी प्रधान अध्यापिका भण्डारीप्रति आभार प्रकट गरेका छन्।

टोय ट्रेनको यात्रा विषयमा पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक राजु ठटालले भने, दार्जिलिङको सानाे रेल युनेस्कोद्वारा मान्यताप्राप्त विश्व धरोहर हो। पहिला यही सानो रेलमा चड्दै झर्दै हामी विद्यालय जाने गर्थ्यौं। तर अहिले यो सानो रेलमा सबैले चढनु सक्तैन। भाडा महँगो भएको छ। हाम्रा विद्यार्थीहरुले दिनहुँ यो रेललाई विद्यालयको खिडकीबाट हेर्ने गर्छन्। तर, कसैले पनि यो रेलमा चडेका थिएनन्।

विद्यालयकी शिक्षिका ज्योत्सना लामाले भनिन्, घरको आँगनमा कुदी हिँड्ने विश्व धरोहर दार्जीलिङको सानो रेल विषय हामी विद्यार्थीलाई कक्षामा पढाउँछौ। तर, सानो रेलको यात्राको अनुभूति कसैले पनि पाउनु सकेका थिएनन्। त्यसैले विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन, अनुभूति पनि दिलाउने उद्देश्यले टोय ट्रेनको यात्रा गराउने प्रबन्ध गरिएको उनले बताइन्।

शिक्षक विश्वनाथ राईले भने, आज रेलको यात्रा गर्दा मलाई मेरो आफ्नै विद्यार्थी जीवनको याद आयो। रेलमा कहिले नचढेका विद्यार्थीहरू लिएर गएका थियौं। सबै खुशी थिए। विद्यार्थीहरू गीत गाउँदै, हस्यौंली गर्दै थिए। उनीहरूको पहिलो रेल यात्राको अनुभूति उनीहरूको जीवनमा सदैव स्मरणीय रहनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande