गान्तोक, 19 अप्रेल (हि.स.) बाँझो जमीनलाई खेतीमा रूपान्तरण अर्थात खेतीयोग्य बनाउने उद्देश्यले पाकिम जिल्लाले गत केही महिनादेखि प्रत्येक शुक्रवार फिल्ड भिजिट कार्यक्रम शुरू गरेको छ। यसै क्रममा हिजो पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवाको नेतृत्वमा अम्बा मामरिङ ग्राम पञ्चायत यूनिट र ताजा ग्राम पञ्चायत यूनिटको बाँझो जमीनको निरीक्षण गर्दै त्यहाँ अदुवा र हर्दी उत्पादन गर्ने तयारीमा जुटेको छ।
पाकिम जिल्लाको ग्रामीण विकास विभागका अधिकारीहरूका साथै कर्मचारीहरूले बाँझो जमीनलाई खेतीमा रूपान्तरण गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको सहयोग र समर्थनको निम्ति हार्दिक धन्यवाद दिँदै कृतज्ञका प्रकट गरेका छन्। मुख्यमन्त्रीको भिजनलाई साकाररूप दिनको निम्ति पाकिम जिल्लाले पहल शुरू गरेको बताइएको छ।
फिल्ड भिजिट कार्यक्रममा विभागका अधिकारी र कर्मचारीहरू लगायत कूल 90 जनाले सहभागिता जनाएका थिए। यस प्रकारको पहलले कृषि क्षेत्रको दिगोपन सुनिश्चित गर्नुका साथै सम्बन्धित ग्राम पञ्चायतहरूको आफ्नै स्रोत राजस्वलाई बढाउने लक्ष्य राखेको छ।
हिन्दुस्थान समाचार / प्रदीप