प्रधानमन्त्री मुद्रा योजनाको 10 वर्ष पूरा, नड्डाले प्रधानमन्त्रीको आभार व्यक्त गरे
प्रधानमन्त्री मुद्रा योजनाको 10 वर्ष पूरा, नड्डाले प्रधानमन्त्रीको आभार व्यक्त गरे


नयाँ दिल्ली, 08 अप्रेल (हि.स.)। 'प्रधानमन्त्री मुद्रा योजना' को आज दश वर्ष पूरा भयो। यस अवसरमा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले यो योजना साना उद्योगहरूलाई आत्मनिर्भर एवं सशक्त बनाउनमा अत्यन्त प्रभावी रहेको भनेका छन्।

नड्डाले मंगलवार एक्समा फोटोहरू साझा गरी लेखेका छन्, 08 अप्रेल 2015 मा शुरू भएको 'प्रधानमन्त्री मुद्रा योजना' साना उद्योगहरूलाई आत्मनिर्भर एवं सशक्त गर्नमा अत्यन्त प्रभावी रहेको छ। यस अन्तर्गत 52 करोड़भन्दा धेरै लाभार्थीहरूलाई गारन्टी-मुक्त लोनको वितरण गरिएको छ, जसमा लगभग 70 प्रतिशत महिला लाभार्थी छन्। यस महत्वाकांक्षी योजनाले विगत 10 वर्षमा देशका करोड़ौं नागरिकहरूको स्व-रोजगार सुलभ हुनका साथै देशको आर्थिक तन्त्र पनि बलियो भएको छ। उनले देशवासीहरूको आर्थिक समृद्धि, स्वावलम्बन एवं आत्मनिर्भरता सुनिश्चित गर्ने यस अद्वितीय उपलब्धीको निम्ति प्रधानमन्त्रीको आभार प्रकट गरे।

भाजपा अध्यक्ष नड्डाले भने, 10 वर्ष अगाड़ी 'प्रधानमन्त्री मुद्रा योजना' को शुभारम्भको साथ एक परिवर्तनकारी यात्रा शुरू भएको थियो। एक यस्तो पहल जसले भारतका साना उद्यमीहरूको आकांक्षाहरूलाई फेरि परिभाषित गऱ्यो। आफ्नो शुभारम्भ भएदेखि मुद्रा योजनाले 52 करोड़भन्दा धेरै उद्यमीहरूलाई 32.61 लाख करोड़को ऋण स्वीकृत गरेको छ, जसबाट स्वरोजगार एवं नवाचारको द्वार खोलेको छ, खासगरी साना शहरहरू र ग्रामीण क्षेत्रहरूमा। यसले नोकरी चाँहनेहरूको सट्टा नोकरी दिनेहरूको निर्माणको दृष्टिकोणलाई मजबुत गऱ्यो।

नड्डाले भने, प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा साना व्यवसायहरूको निम्ति ऋणसम्म पहुँच पहिलेको भन्दा धेरै सजिलो भएको छ। मुद्राले अनगन्ती व्यक्तिहरूलाई उद्यमी बन्ने, रोजगार सृजनलाई सक्षम गर्ने र भारतको वृद्धि एवं विकासमा योगदान दिनका लागि सशक्त बनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande