स्वर्ण जयन्ती सफलताको उत्सव, नयॉं चुनौतीहरूको सामना गर्ने र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर: राज्यपाल
राज्यपाल ओम प्रकाश माथुर


गान्तोक, 13 मई (हि.स.)। प्रेस क्लब अफ् सिक्किम र राज्य सूचना एवं जनसम्पर्क (आईपीआर) विभागले राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसर आज स्वर्ण जयन्ती सम्मेलन 'सिक्किम@50' आयोजन गऱ्यो। अदमपुलस्थित स्थानीय एउटा होटलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यपाल माथुरले स्वर्ण जयन्ती सम्मेलन 'सिक्किम@50' आयोजनको निम्ति प्रेस क्लब र आईपीआर विभागलाई बधाई दिए। सिक्किमको 50 वर्षीय यात्रामाथि प्रकाश पार्दै उनले यसलाई सफलताको उत्सव, नयॉं चुनौतीहरूको सामना गर्ने र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर रहेको बताए।

राज्यपालले भाइब्रेन्ट भिलेज प्रोग्रामको उल्लेख गर्दै 2014 देखि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उत्तर पूर्व र सीमावर्ती क्षेत्रहरूको विकासको निम्ति धेरै महत्वपूर्ण पहल गरिएको बताए। यसमा एक्ट ईस्ट नीति, गुणात्मक हवाई र रेल सम्पर्क तथा उन्नत सडक नेटवर्क जस्ता योजनाहरू सामेल रहेको उनले बताए।

यस अतिरिक्त, राज्यपाल माथूरले 'अपरेशन सिन्दूर' को उल्लेख गर्दै यसलाई भारतद्वारा पाकिस्तान विरुद्ध एउटा सशक्त सैन्य अभियान बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सम्बोधनको उल्लेख गरे, जसमा प्रधानमन्त्रीले स्पष्ट रूपमा भारतले अब प्रतिक्रिया मात्र दिॅंदैन, तर निर्णायक कारबाही पनि गर्छ भन्ने सन्देश दिएको बताए। उनले आतङ्कवाद विरुद्ध भारतको लडाई केवल राष्ट्रिय हितसम्म सीमित छैन, तर सम्पूर्ण विश्वको सुरक्षाको निम्ति अत्यन्त आवश्यक रहेको बताए।

राज्यपालले आफ्नो सम्बोधनमा भारतीय सेनाका वीर जवानहरूको साहस र पराक्रमको सराहना गर्दै अपरेशन सिन्दूर भारतको सैन्य रणनीति र दृढ संकल्पको प्रतीक रहेको बताए। उनले भारत आफ्नो सम्प्रभुता र नागरिकहरूको सुरक्षाको निम्ति कुनै पनि चुनौतीको सामना गर्न पूर्णत: तैयार रहेको बताए।

राज्यपालले यो सम्मेलनले नयॉं विचारहरू, नयॉं प्रतिबद्धता र सिक्किमलाई एकजुट गर्ने एउटा मञ्च बन्नेछ भन्ने आशा व्यक्त गरे। उनले स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि रहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande