सोनादा, 18 मई (हि.स.)। गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन, रंगबूलको 25औं वार्षिक सभा एवं रजत जयन्ती समारोह आइवार स्थानीय अजम्बरी सार्वजनिक भवन गुराँस डाँडा, रंगबूलमा सम्पन्न भयो। सभाको अध्यक्षता संगठनको सभापति सुबेदार उदय कुमार लिम्बुले गरेका थिए।
यस रजत जयन्ती समारोहमा मुख्य अतिथिको रूपमा जिल्ला सैनिक बोर्डका सचिव ग्रूप क्याप्टन तरूण कुमार सिंगा, अति विशिष्ट सेवा मैडल उपस्थित रहेका थिए। यसैगरी, विशिष्ट अतिथिहरुमा स्थानीय जीटीएको सभासद राजेस चौहान अनि पूर्व पार्षद एनबी प्रधान एवं अनरेरी कप्तान किशोर रजक उपस्थित रहेका थिए। कार्यक्रममा रंगबूल क्षेत्रका आठवटा सामाजिक संस्थाका प्रतिनिधिहरु र अन्य गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।
सभाको प्रारम्भमा संगठनका मृत सदस्यहरु अनि हालैमा पहलगाममा भएको आतङ्कवादी हमलामा मारिएका निर्दोष नागरिकहरु अनि ओपरशन सिन्दूरमा विरगति प्राप्त गरेका सैनिकहरुको आत्मा शान्तिको निम्ति मौन धारण गरियो। समारोहमा स्वागत सम्भाषण अनरेरी कप्तान रबिन्द्र लामाले राखेपछि मूल सचिवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष सुबेदार रबिनचन्द्र राईद्वारा कोषको विवरण प्रस्तुत गरेका थिए।
यस समारोहको यादगार स्वरुप उपस्थित सम्पूर्णलाई संगठनको रजत जयन्तीको स्मृति चिन्ह भेट स्वरुप प्रदान गरिएको संगठनको सदस्य सुवास ठकुरीले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक