खरसाङ, 18 मई (हि.स.)। राति परेको पानीले आज बिहान तीनधारेको 17 माइल क्षेत्रस्थित राष्ट्रिय राजमार्ग जलमग्न बन्यो। यस क्षेत्रमा प्रत्येक वर्ष बर्खा लाग्नसाथ सडकभरि पानी जमेर गाडी, बाइक, स्कुटी कुदाउन असुविधा हुनका साथै मानिसहरु पैदल हिँड्न पनि धेरै असुविधा हुने गर्दछ।
यस्तै परिस्थिति आइतवार बिहान पनि तीनधारेको 17 माइल क्षेत्रमा देखा परेको थियो। सडक किनारमा पानी बग्ने नाला व्यवस्थित नरहेकाले साथै यहाँ सडक केही तल धस्किएकाले पानी उकालो बग्न नसकेर यहाँ पानी जम्ने गर्दछ। यहाँ सडकमा पानी जमिनुभन्दा पनि यस क्षेत्रमा पानीझरीमा पैह्रो जाने आशंकाले स्थानीयहरुलाई सताउने गरेको छ।
आतवार बिहान यहाँको सडकमा निक्कै धेरै पानी जमेपछि सवारी साधनहरू कुदाउन र मानिसहरुलाई हिडडुल गर्न धेरै असुविधा भएको देखियो। यस असुविधालाई ध्यानमा राख्दै दिउँसो जेसीबीको माध्यमले पानी हटाउने कार्य गरियो। अहिले जमेको पानी निकालिए तापनि फेरि ठूलो पानी परे पुन: पानी जम्ने समस्या हुने स्थानीयहरुले बताएका छन्।
यहॉं पानी जम्ने समस्या समाधानको लागि नालाहरु व्यवस्थित गरिनु पर्ने स्थानीयहरुले सम्बन्धित विभाग समक्ष माग गरेका छन्। पानी जमेर हुने समस्या मात्र होइन, तर यो क्षेत्र पैह्रोको जोखिम क्षेत्र पनि मानिएकाले बर्खा लाग्नसाथ स्थानीयहरुका लागि चिन्ताको विषय बन्ने गरेको छ। सम्बन्धित निकायले यस क्षेत्रका लागि स्थायी समाधान तर्फ कार्य गर्न आवश्यक देखिएको स्थानीयहरू बताउॅंछन्।
हिन्दुस्थान समाचार / हनोक