दार्जिलिङ, 31 मई (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संयोजक अजय एडवर्ड्सले माटो पनि छोड्दिन, बाटो पनि छोड्दिन भनी बताएका छन्। उनले आज आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यस्तो सन्देश साझा गरेका छन्।
उनले यो दीर्घकालदेखि न्याय र पहिचानको खोजीमा रहेको जनताको आत्मा समेटिएको अभिव्यक्ति हो भनी उल्लेख गरेका छन्। उनले भने, 'यो एक साधारण वाक्य जस्तो देखिए तापनि, यो उक्ति गहिरो भावनात्मक अर्थ र राजनीतिक स्पष्टता बोकेको सङ्घर्षको प्रतीक बनिसकेको छ। यसले गोर्खा आन्दोलनको मूल मर्म, पहिचान र विकास दुवैको अधिकार उजागर गर्दछ।'
एडवर्ड्सले अघि भने, 'यो केवल नारा होइन। यो त हाम्रो दर्शन हो— इण्डियन गोर्खा जनशक्ति फ्रन्टको, हाम्रो आन्दोलनको, र हाम्रो जनताको भविष्यप्रति रहेको हाम्रो दृष्टिकोणको।' दार्जिलिङका गोर्खाहरूको लागि 'माटो' केवल माटो होइन, यो त पिता-पुर्खाको थलो, सांस्कृतिक धरोहर र 'गोर्खाल्याण्ड' को बहुप्रतीक्षित सपनाको प्रतिक हो।
उनले भने, दशकौँदेखि प्रणालीगत उपेक्षा, भ्रष्टाचार र असङ्ख्य वाचा-भङ्गका कारण पहाडका बासिन्दाहरू शिक्षादेखि स्वास्थ्य, रोजगारीदेखि पूर्वाधारसम्मका आधारभूत आवश्यकताहरूको लागि पनि सङ्घर्षरत छन्। बाटो भन्नाले जीवनको गरिमाका साथ बाँच्न पाउने अधिकारको प्रतीक हो, प्रगतिको मार्ग हो।
हिन्दुस्थान समाचार / हनोक