गान्तोक, 17 जून (हि.स.)। राङगाङ याङगाङ निर्वाचन क्षेत्र अन्तर्गत याङगाङ क्षेत्रमा पर्यटन सम्भावित स्थलहरूको क्षेत्र विधायक तथा सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापाको अगुवाईमा विभिन्न पर्यटन सरोकारवालाहरूको टोलीद्वारा भ्रमण र निरीक्षण गरिएको छ। टोलीमा मुख्यमन्त्रीका ओएसडी (राजनीतिक मामिला) कर्मा सुब्बा, उप-निर्देशक (एडभेन्चर सेल) पर्यटन विभाग मनोज छेत्री, कनिष्ठ अभियन्ता (पर्यटन) सुदर्शन प्रधान र आकृति राई, वाईटीडीसी र याङगाङ पर्यटन विकास समितिका प्रतिनिधिहरू र नेपालबाट विशेषज्ञ साहसिक टोली आदि सहभागी थिए।
टोलीले हिजो राभोङ साङमोको साहसिक पर्यटन मूल्याङ्कनको भ्रमण गरेका थिए भने आजको भ्रमण याङगाङ क्षेत्रभित्रका अवसरहरू पहिचान र प्रवर्द्धनमा केन्द्रित थियो। क्षेत्र विधायक तथा विधानसभा उपाध्याक्ष राजकुमारी थापाको विशेष नेतृत्वमा पर्यटनलाई बढावा दिन र स्थानीय अर्थतन्त्रलाई दिगो विकासमार्फत माथि उठाउन निरन्तर पहल भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख छ।
हिजोदेखि लागि परेर यो क्षेत्र भ्रमण गरिएकोमा क्षेत्र विधायक तथा उपाध्याक्ष राजकुमारी थापाको पक्षबाट राज्य बाहिरबाट आएका प्रतिनिधिहरूलाई आभार व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरिन्। यसका साथै, यो पहलको निम्ति सिक्किम राज्य पर्यटन विभागप्रति पनि हार्दिक कृतज्ञता प्रकट गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल