खरसाङ, 20 जून (हि.स.)। म समस्याकाे लागि होइन, तर समाधानको लागि राजनीति गर्छु। हामीलाई परिचय संकट छ भनेर हाम्रो मानसिकतामा हालिदिएको छ। तर त्यो परिचय संकटलाई हाम्रा नानीहरु धेरै पढेर अनि शिक्षित बनेर अघि बढे, त्यो नै हाम्रो परिचय हुनेछ। हाम्रा नानीहरु धेरै पढेर आईएएस, आईपीएस, डाक्टर, इञ्जिनियर हुनुपर्छ। उक्त कुरा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले भनेका हुन्।
उनले आज वहदाम इण्डियाद्वारा दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति 2025 कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै उक्त कुरा भनेका छन्।
उनले आफ्नो सम्बोधनमा भने, 'वहदाम इण्डिया दार्जिलिङ बेस भएकोले दार्जिलिङलाई नै राम्रो सोचेर यहाँका नानीहरुलाई छात्रवृत्ति प्रदान गरेकोमा धेरै धन्यवाद छ। यो हाम्रो लागि एकदम राम्रो कुरा हो। उहाँहरुलाई जीटीएबाट चाहिने कुनै पनि प्रकारको सहयोग गर्न हामी तयार छौँ।'
अनित थापाले आफ्नो सम्बोधनमा अघि भने, वहदाम इण्डियाको सोचलाई हामीले पनि साथ दिनुपर्छ र हाम्रो नानीहरुको भविष्य उज्वल बनाउन सक्छौँ। म 2017 देखि सबैको भविष्यको लागि अघि आएको छु। हिजो सबैले भूल गरे, तर तपाई हामी सबै मिलेर हिजोको भूललाई सुधार्नुपर्छ। यो यात्रामा हामी सकारात्मक भएर अघि बढ्नुपर्छ। यस यात्रामा सकारात्मक भएर अघि बढ्न सके अवश्य पनि सफल हुन्छौं।'
हिन्दुस्थान समाचार / हनोक