नोकरी पहिलो रोजाई होइन, स्वतन्त्र उद्यमहरूको लागि विकल्प हुनुपर्छ: मन्त्री राई
नाम्ची, 20 जून (हि.स.)। शहरी विकास विभागले स्वच्छ भारत मिशन अन्तर्गत आज नाम्ची जिल्लाको अफिसर्स क्लबमा इङ्गेज 2025 अभियानको शुभारम्भ गऱ्यो। यस अभियानको आयोजन 24 आवर्स इन्स्पार्यडको तत्वावधानमा आयोजना गरिएको हो, जसको मुख्य उद्देश्य शैक्षिक संस्थानहरूमा फोहोर व्यवस्थापन अभ्यासहरूमा केन्द्रित एक वर्ष लामो सूचना, शिक्षा र सञ्चारको कार्यान्वयन गर्नु रहेको छ।
शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथि रहेको यस कार्यक्रममा नाम्ची नगर परिषद, जोरथाङ र गेजिङ नगर पञ्चायतका प्रतिनिधिहरू, विभिन्न विद्यालय साथै महाविद्यालयका विद्यार्थीहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले रिड्युस, रियुज र रिसाइकलको सिद्धान्तलाई दैनिक जीवनमा अप्नाउनु पर्ने साथै यसलाई कार्यान्वय गर्नुपर्ने आग्रह गरे। मन्त्री राईले युवाहरूलाई सरसफाई, आत्मनिर्भरता र उद्यमशीलतामा केन्द्रित मानसिकता विकास गर्न पनि आह्वान गरे।
उनले नोकरी पहिलो रोजाई होइन, तर स्वतन्त्र उद्यमहरूको लागि एक विकल्प हुनुपर्छ भनी सुझाउ दिए। मन्त्री राईले दीर्घकालीन फोहोर व्यवस्थापन प्रयासलाई अझ प्रभावकारी बनाउन समाजका सबै क्षेत्रहरूबाट सामूहिक सहभागितालाई प्रोत्साहित गर्न अभियान समुदायबाट हुनु पर्ने विचार राखे।
यसरी नै नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीश चन्द्र राईले नाम्चीमा सम्पन्न भइरहेको 'स्वच्छ र सुन्दर नाम्ची' पहलबारेमा जानकारी गराए। उनले स्थानीय नागरिकहरूलाई आफ्नो घर र वरिपरि सफा गर्न प्रोत्साहित गर्दै सरसफाई कायम राख्न सबैको साझा जिम्मेवारी रहेको बताए।
हिन्दुस्थान समाचार / प्रदीप