विविध खेलकूदका साथ 41 माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट 2025 सफलतापूर्वक सम्पन्न
विविध खेलकूदका साथ 41 माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट 2025 सफलतापूर्वक सम्पन्न


गान्तोक, 22 जून (हि.स.)। दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत पर्ने 41 माम्ले ग्राम प्रशासन केन्द्रद्वारा आयोजना गरिएको स्पोर्ट्स मिट 2025 परम्परागत तथा मनोरञ्जनात्मक खेलकूद कार्यक्रमहरूका साथ भव्य रूपमा सम्पन्न भएको छ। माम्ले निम्न माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगिताको उद्घाटन जिल्ला पञ्चायत सदस्य मिलन मङ्गरले गरे। कार्यक्रममा विशिष्ट अतिथि नाम्ची खण्ड विकास अधिकारी उपेन्द्र राई थिए।

उक्त स्पोर्ट्स मिटको मूल उद्देश्य ग्राम प्रशासन केन्द्र र खण्ड प्रशासन केन्द्रबीच मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्नु रहेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रम अन्तर्गत महिलाहरूका लागि पासिङ द बल र म्युजिकल चेयर जस्ता रमाइला प्रतियोगिताहरू सञ्चालन गरिएका थिए भने पुरुष वर्गमा टग अफ वार प्रतियोगिता प्रमुख आकर्षण बनेको थियो। टग अफ वारमा माम्ले जीपीके विजयी घोषित भयो। सहभागी टोलीहरूलाई नगद पुरस्कार प्रदान गरियो।

फुटबल प्रतियोगिता विशेष आकर्षणको रूपमा प्रस्तुत भएको थियो, जसमा नाम्ची बीएसी र माम्ले बीएसीबीच प्रतिस्पर्धा भएको थियो। नाम्ची बीएसीले एक गोलको विरुद्ध तीन गोल गर्दै प्रतिद्वन्दीलाई पराजित गर्‍यो।

प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि नाम्ची बीएसीका खेलाडी दिपेश राई, म्यान अफ द म्याच खण्ड विकास अधिकारी उपेन्द्र राई तथा पहिलो गोलकर्ता (फस्ट स्कोरर) माम्ले बीएसीका फुर्बा छिरिङ भोटिया घोषित भए।

विशिष्ट अतिथि उपेन्द्र राईले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै खेलकूदले मानिसको मानसिक, शारीरिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने बताउँदै राज्य सरकारको ग्रामीण विकास विभागमार्फत प्रदान गरिँदै आएका विभिन्न योजनाहरूबारे जानकारी गराए। साथै, माम्ले जीपीकेमा अवस्थित तिरिखोला झरनाको सौन्दर्यकरण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सारिएको जानकारी पनि उनले दिए।

मुख्य अतिथि मिलन मङ्गरले ग्रामीण क्षेत्रमा यस्ता खेलकूद प्रतियोगिताको आयोजनले युवाहरूलाई नकारात्मक प्रभावहरूबाट टाढा राख्न तथा स्वास्थ्यप्रति सजग बनाउने दिशामा सहयोग पुर्‍याउने बताए। साथै, यस्ता सचेतनामूलक र स्वास्थ्यवर्द्धक कार्यक्रमहरूको निरन्तर आयोजन आवश्यक रहेकोमा जोड दिँदै उनले विजेता तथा सहभागी सबै टोलीहरूको उत्साहवर्धन स्वरूप ट्रफीहरू प्रायोजन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande