ओभिया आर्ट सर्कलद्वारा कला वार्ता तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न
ओभिया आर्ट सर्कलद्वारा कला वार्ता तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न


गान्तोक, 22 जून (हि.स.)। ओभिया आर्ट सर्कल, सिक्किमको आयोजनामा सिक्किम अकादेमीको कार्यालयमा एक विशेष कला वार्ता तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नापूर्णा आले प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

यस अवसरमा भर्खरै सिक्किम अकादेमी पुरस्कार प्राप्त गरेका प्रबुद्ध कलाकार सेवन राई, वरिष्ठ चित्रकार हेम खवाससहित अन्य 19 जना युवा कलाकारहरूलाई ओभिया आर्ट सर्कलले सम्मान प्रदान गर्‍यो। साथै, राज्यमा कला प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउँदै आएकी सचिव आलेलाई पनि अङ्गवस्त्र र पुष्पगुच्छा सहित अभिनन्दन गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलेले ओभिया आर्ट सर्कलले जोरथाङ माघे मेलामा पुर्‍याएको कलात्मक योगदान तथा युवापुस्तामा कलाप्रतिको अभिरुचि विकास गर्ने प्रयत्नको उच्च सराहना गर्दै सर्कलबाट अझ धेरै योगदानको अपेक्षा गरिएको बताइन्। साथै, आगामी दिनहरूमा ओभिया आर्ट सर्कलसँग सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै उनले युवा कलाकारहरूलाई निरन्तर अभ्यास, लगनशीलता र सिर्जनशीलताको बाटोमा अघि बढ्न प्रेरणा दिइन्।

कार्यक्रममा सर्कलकी अध्यक्ष दीपा राईले राज्यका कलाकारहरूको विकासमा सूचना तथा जनसम्पर्क विभाग तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै ओभिया आर्ट सर्कलप्रति विश्वास प्रकट गरिएकोमा कृतज्ञता प्रकट गरिन्।

महासचिव दिवाकर लामिछानेले युवा कलाकारहरूलाई सर्कलसित जोडिएर निरन्तर कला अभ्यासमा लागिरहनु पर्नेमा जोड दिँदै सिकाइको भावना विकास गर्न आग्रह गरे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा कलाकार सेवन राईको कला वार्ता आयोजना गरिएको थियो। फाइन आर्टमा स्नातकोत्तर तथा म्युजियोलोजीको अध्ययनरत राईको कलाबारे दृष्टिकोण र अनुभवले युवा कलाकारहरूलाई गहिरो प्रेरणा प्रदान गर्‍यो।

कार्यक्रममा साहित्यकार प्रवीण राई जुमेली, कलाकार पारस राई, तथा वरिष्ठ कलाकारहरू विशिष्ट अतिथिको रूपमा सहभागी थिए। यस कार्यक्रमले सिक्किमको समकालीन चित्रकला र युवा प्रतिभालाई सम्मानित गर्दै कला क्षेत्रको भविष्य उज्यालो बनाउने दिशामा उल्लेखनीय योगदान पुर्‍याएको सन्देश दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande