गान्तोक, 22 जून (हि.स.)। आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको 174औँ जन्मजयन्तीको अवसरमा पादरी गङ्गाप्रसाद स्मृति प्रतिष्ठानले पत्रकारिता र अध्यात्मिक संगीत साधनामा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने घोषणा गरेको छ। प्रतिष्ठानको दशकिय स्थापना दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष कमल चामलिङ कामराङ्गेले यसबारे जानकारी गराएका हुन्।
उनका अनुसार, आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधान स्मृति पत्रकार सम्मान 2025 वरिष्ठ पत्रकार अरुण कुमार रसाइलीलाई प्रदान गरिनेछ। रसाइली दार्जिलिङ–कालेबुङ क्षेत्रका ख्यातिप्राप्त पत्रकार हुन्, जसले नेपाली पत्रकारिताको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
त्यस्तै, आदि पत्रकार पादरी गङ्गाप्रसाद स्मृति अध्यात्म संगीत सम्मान सिक्किमको रम्फू निवासी चर्चित संगीत साधक सीके राईलाई प्रदान गरिनेछ। उनले आत्मिक संगीतको क्षेत्रमा लामो समयदेखि समर्पित योगदान पुर्याउँदै आएका छन्।
प्रतिष्ठानले यसै अवसरमा संस्थापक अध्यक्ष डा. पीएम प्रधान, संस्थापक प्रमुख सल्लाहकार किरण कुमार रसाइली तथा संस्थापक उपाध्यक्ष चुनीलाल घिमिरेलाई पनि विशेष अभिनन्दन गर्ने निर्णय गरेको छ। दशकअघिको स्थापनालगत्तैबाट संस्थालाई दिगो मार्गदर्शन र योगदान पुर्याउने यी तीनैजना व्यक्तित्वहरूको सम्मान गरिने अध्यक्ष चामलिङले जानकारी दिए।
उक्त सम्मान समारोह गान्तोकस्थित जनता भवनमा 174औँ पादरी जयन्तीको अवसरमा आयोजना गरिनेछ। कार्यक्रममा सिक्किम सरकारका ग्रामीण विकास तथा सहकारिता मन्त्री अरुण उप्रेती प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। अध्यक्ष चामलिङले यस भव्य समारोहमा सबैलाई उपस्थितिका लागि हार्दिक आह्वान गरेका छन्।
स्मृति प्रतिष्ठानको बैठक पास्तर शिलास राईको सञ्चालनमा सम्पन्न भएको थियो, जसमा उपाध्यक्ष पत्रुस गुरुङ, महासचिव भीम रावत, सदस्यहरू भीम छेत्री, पास्टर फिलिप चामलिङ, पावल कर्ण राई, पावल भोटिया लगायत गिर्जाघरहरूबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा प्रतिष्ठानको कार्यसमितिको नयाँ सहकोषाध्यक्षका रूपमा एन्ड्रु राईलाई चयन गरिएको जानकारी पनि गराइयो।
बैठकको प्रारम्भ र समापन पास्तर रूबेन विश्व र पास्टर कालेप विश्वद्वारा प्रार्थनासहित सम्पन्न भएको थियो।
पादरी गङ्गाप्रसाद प्रधानको स्मृतिमा आयोजित यो सम्मान समारोह न केवल पत्रकारिता र संगीत साधनालाई उच्च सम्मान प्रकट गर्ने प्रयत्न हो, तर युवापुस्तालाई पनि प्रेरणा दिने महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल