खरसाङ, 09 जून (हि.स.)। पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्रविन्दु बनिरहेको छ हर्नबील पार्क र स्काई टावर। तीनधारेदेखि केही मुनिस्थित दुई नम्बरमा रहेको हर्नबील पार्क र स्काई टावर अहिले टाडा नजिकका पर्यटकहरु साथै स्थानीयहरुका लागि मुख्य आकर्षणको केन्द्रविन्दु बनिरहेको छ।
विशेष गरेर छुट्टीको समय शनिवार र आइतवार यहाँ निक्कै भीड लाग्ने गरेको देखिएको छ। खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट स्थानीयहरु र पर्यटकहरुका लागि निर्माण गरिएको यो हर्नबील पार्क र स्काई टावरको उद्घाटन गत 28 अप्रेल? 2025 को जीटीएको मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको थियो।
सुकना र सिलगढीबाट नजिक भएको कारणले पनि यहाँ छुट्टीको दिन र शनिवार र आइतवार निकै बेसी पर्यटकहरु आउने गरेको देखिएको छ। हर्नबील पार्कमा नानीहरुलाई खेल्नलाई केही व्यवस्था गरिएको कारणले पनि नानीहरु धेरै संख्यामा आउने गरेका छन्। स्थानीयहरु साथै पर्यटकहरु छुट्टी मनाउन साथै घुम्नलाई यहाँ आउने गरेका छन्।
हर्नबील पार्कमा शान्त र स्वच्छ वातावरणमा प्राकृतिक सुन्दरताको अनुभव गर्नुका साथै छुट्टीको समय दिनभरि यहाँ आएर समय बिताउन उपयुक्त छ। यहाँ हर्नबील पार्क र स्काई टावर दुवैमा मानिसहरुको भीड लाग्ने गरेको छ, किनभने यो पार्क अहिले पर्यटकहरुका लागि साथै स्थानीयहरुका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ।
एक समय यो क्षेत्र 2011 मा तीनधारेमा गएको पैह्रोले अर्कै बनिसकेको थियो भने अहिले आएर यो क्षेत्र पुन: आकर्षणको केन्द्र बनेको छ। विशेष गरेर यस क्षेत्रका लागि दुई नम्बर बस्तीको हर्नबील पार्क र स्काई टावरले हालमा मुख्य भूमिका निर्वाह गरिरहेको छ। मुख्य पर्यटकीय स्थलको रूपमा विकास हर्नबील पार्क र स्काई टावर पहाडमा पञ्चायातिराज फर्केर आएपछि विकासको एक ज्वलन्त उदाहरण मान्न सकिन्छ। किनभने यो पार्कको निर्माण खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट हालैमा निर्माण गरिएको हो।
यस पार्क र स्काई टावरलाई स्थानीय तौरमा एउटा समितिले सञ्चालन गरिरहेको छ। अहिलेसम्म यहाँ पर्यटकहरु असम, झारखण्ड, उत्तराखण्ड, बिहार, कोलकोता, सिलगढी लगायत दार्जिलिङ, कालेबुङ, खरसाङ र वरिपरिका स्थानीय मानिसहरु यहाँ आउने गरेको पार्क सञ्चालन समितिका सभापति सुदन लामाले बताएका छन्।
सभापति लामाले खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, पञ्चायत समिति सदस्य साजन दर्जी लगायत अन्यहरुलाई धन्यवाद दिएका छन्। उनले यस पार्कको संरक्षणमा जोड दिएका छन्। उनले यस पार्कमा घुम्न आउने पर्यटकहरु साथै स्थानीयहरुलाई मदपान नगरी आइदिन अनुरोध गरेका छन्। उनले पार्कभित्र मदपान पूर्ण रुपमा निषेध गरिएको पनि जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक