सोनादा, 09 जून (हि.स.)। युनिसेफ ग्रामीण वास प्रोजेक्टका कार्यक्रम प्रमुख तथा स्वच्छ भारत अभियान साथै पिउने पानी अनि सरसफाई मन्त्रालयका भूपू निर्देशक सुजय मजुमदार र उनकी पत्नी डा. सोनिया मजुमदार (नयाँ दिल्ली) ले रेडियो सलेसियन 90.8 एफएम स्टुडियोको आधिकारिक भ्रमण गरेका छन्। यस अवधि रेडियो सलेसियनका निर्देशक फा. पल पनि उपस्थित थिए। भ्रमणमा आएका अतिथिद्वयलाई कार्यक्रम निर्देशक समीर छेत्री लगायत आरजे टिमले गोर्खे टोपी अनि खदा लगाएर स्वागत गरे।
छोटो भेटघाटबीच अतिथिहरुसित वाटर एण्ड सेनिटेशन हाइजिन (वास) परियोजनाबारे चर्चा गरियो। गत वर्षको अन्तदेखि सामुदायिक भारतव्यापी सामुदायिक रेडियो स्टेसनहरुलाई लिएर हाल चलिरहेको उक्त परियोजनाबारे पश्चिम बंगालका प्राय: पाँचवटा सामुदायिक रेडियोहरु मध्ये दार्जिलिङ पहाडकै एकमात्र सामुदायिक रेडियो, रेडियो सलेसियन 90.8 एफएम स्टेशन आइपुगेका युनिसेफ परियोजना प्रमुखसित वास परियोजनाबारे गरिएको चर्चामा कार्यक्रम निर्देशक समीर छेत्री अनि परियोजना प्रबन्धक आरजे वाङ लामाले सामना गर्नुपरेको चुनौतीमाथि विशेष जोर दिए।
यसै अवसरमा रेडियो सलेसियनले हालसम्म गरिसकेका युनिसेफका परियोजनाहरुबारे पनि जानकारी दिए। यसबाहेक सामुदायिक रेडियो सञ्चालनबारे निर्देशक फादर पल अनि कार्यक्रम निर्देशक समीर छेत्रीले थप जानकारी दिए। विशेषगरी रेडियो सलेसियनले स्थापनाकालदेखि हालसम्म छोटो अवधिमै पाएको स्थानीय सहयोग र समर्थनबारे पनि थप जानकारी दिए।
हिन्दुस्थान समाचार / हनोक