हावड़ा, 14 जुलाई (हि.स.)। हावड़ाको बी गार्डन क्षेत्रमा गए आइतवार राती एकजना 23 वर्षीय युवकको हत्या भएपछि क्षेत्रको परिवेश तनाउपूर्ण भएको छ। यद्यपि घटना घटेको केही घण्टाभित्रै पुलिसले दुईजना आरोपीहरूलाई पक्राउ गऱ्यो। घटनाको विरोधमा स्थानीय मानिसहरूले थाना घेराउ गरी व्यापक विरोध प्रदर्शऩ गरे। उग्र भीड़को माग थियो, पक्रा पर्ने आरोपीहरूलाई सार्वजनिक रूपमा पेश गरियोस्।
पुलिस सूत्र अनुसार मृत युवकको नाम शेख साहेब हो जसले स्थानीय रूपमा गारमेन्ट फ्याक्ट्रीमा श्रमिकहरू आपूर्ति गर्दथे। पीड़ित परिवार अनुसार गए आइतवार राती लगभग 8 बजे केही परिचित युवकहरूले उसलाई घर बाहिर बोलाएर कतै लगे। केही समयपछि परिवारलाई उसको मृत्यु भएको सूचना दिइयो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि युवकको शवलाई कब्जामा लियो। पुलिसले तत्काल कारबाही गर्दै हत्याको आरोपमा दुईजना संदिग्धहरूलाई पक्राउ गरेको छ।
हत्या भएको खबर फैलिनसाथ स्थानीय मानिसहरूमा आक्रोश व्याप्त भयो। ठूलो संख्यामा मानिसहरू बी गार्डन थाना बाहिर भेला भएर थाना घेराउ गर्न थाले। उनीहरूको माग थियो, आरोपीहरूलाई सबै सामु पेश गरियोस् अनि कड़ाभन्दा कड़ा सजाय दिइयोस्। अबेर रातीसम्म पुलिस र प्रदर्शनकारीहरूबीच स्थिति तनाउपूर्ण रह्यो।
पुलिस अधिकारीहरूले स्थानीयहरूलाई शान्त बनाउने हरसम्भव चेष्टा गरे साथै आश्वासन दिए, मामिलाको गहन जाँच गरिँदैछ साथै दोषीहरूलाई कुनै पनि स्थितिमा छाड़िनेछैन। तथापि सोमवार बिहानसम्म स्थिति पूर्ण रूपले शान्त हुन सकेको थिएन। अहिले पनि तनाउ व्याप्त छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा