पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री
पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री


गान्तोक, 14 जुलाई (हि.स.)। वन तथा पर्यावरण विभागको तत्त्वावधानमा पन्ध्र दिवसीय राज्यस्तरीय पर्यावरण पर्वको समापन कार्यक्रम आज गान्तोकस्थित मनन केन्द्रमा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्यअतिथिका रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए। यस वर्षको पर्यावरण पर्वको मुख्य विषयवस्तु 'लीभ ए ग्रीन् लेगसि' रहेको आईपीआर विभागले आज बताएको छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै पर्यावरण संरक्षण केवल विभागको कर्तव्यमात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी रहेको पनि बताए। उनले ‘मेरो रुख मेरो सन्तति’, ‘माई चाइल्ड फ्रम वाइल्ड’, 'शिशु समृद्धि योजना', ‘मेरो बाटो मेरो बोट’ जस्ता जनमुखी कार्यक्रमले सिक्किम राज्यले वैश्विक मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्ने अवसर पाएको अवगत गराउॅंदै प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी सोचअनुरूप वैश्विक गन्तव्यको विषयवस्तुलाई पनि यस प्रकारको कार्यक्रमले सहयोग पुऱ्याएको बताए।

यस वर्ष विश्व पर्यावरण दिवसको मुख्य विषयवस्तु 'एन्डिङ्ग प्लास्टिक् ग्लोबल्ली' रहेको थियो। जसमा एकल प्लास्टिक प्रतिबन्धित अन्य राज्यहरूमध्ये सिक्किम अघिबाटै अग्रणी राज्य रहेको मुख्यमन्त्रीले बताए। यसअतिरिक्त उनले दुईवटा डिजिटल वेब पोर्टलहरू ‘अनलाइन फरेस्ट चेकपोस्ट’ र ‘मेरो रुख मेरो सन्तति पोर्टल’ को उद्धघाटन पनि गरे।

वन तथा पर्यावरण विभागका मन्त्री पिन्छो नामग्याल लेप्चाले आफ्नो सम्बोधनका क्रममा पर्यावरणको संरक्षणमाथि जोड दिॅंदै सरकारका कार्यहरू पर्यावरणकेन्द्रित रहेको बताए। उनले यस्ता कार्यक्रमले सिक्किममा २.९१ प्रतिशत वृक्षहरूको वृद्धि भएको जानकारी गराए। मुख्यमन्त्रीको पहलमा पर्यावरण संरक्षणसम्बन्धित दूरदर्शी कार्यक्रमले सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको परिकल्पनालाई साकार पार्न सहयोग पुऱ्याएको मन्त्रीले बताए।

कार्यक्रममा पर्यावरण संरक्षणका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई सरकारद्वारा नगद पुरस्कार प्रदान गरियो। जसमा मेरो बाटो मेरो बोट कार्यक्रमअन्तर्गत सोरेङ जिल्लाअन्तर्गत सोरेङ-च्याखुङ सङक मार्गमा उत्कृष्ट कार्य गर्ने जन कार्य विभागका बाह्रजना मजदुरहरूलाई नगद रु. ५०,००० प्रति प्रदान गरियो। यसरी नै ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रमअन्तर्गत तीनजना आशा कर्मचारीहरूलाई नगद रु. १०,८०० प्रति साथै प्रमाण पत्र प्रदान गरियो। यसै कार्यक्रमअन्तर्गत राज्यका छवटै जिल्लाका अठारजना लाभार्थी परिवारका नानीहरूलाई सिक्किम शिशु समृद्ध योजनाको ब्याङ्क खाता प्रदान गरियो।

वन तथा पर्यावरण विभागद्वारा पर्यावरण पर्व २०२५ को अवसरमा राखिएको अन्तरविद्यालय सरकारी वरिष्ठ माध्यमिकस्तरको हाजिरी जवाफ प्रतियोगितामा शीर्ष चारवटा विद्यालयहरू क्रमशः प्रथम सरकारी वरिष्ठ माध्यमिक विध्यालय, थर्पू (सोरेङ जिल्ला), दोस्रो पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय, मङ्गन (मङ्गन जिल्ला), तेस्रो सरकारी वरिष्ठ माध्यामिक विद्यालय क्युजिङ (नाम्ची जिल्ला) र चौथो पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय पेलिङ ( गेजिङ जिल्ला) लाई नगद राशिसहित प्रमाण पत्र मुख्यअतिथिको बाहुलीबाट प्रदान गरियो।

यसै कार्यक्रममा वन तथा पर्यावरण विभागद्वारा पर्यावरण संरक्षणसम्बन्धी जनचेतनामूलक वृत्तचित्र अनि नाटक प्रस्तुत गरिएको थियो। दीप प्रज्वलनका साथमा शुरु भएको कार्यक्रममा वन तथा पर्यावरण विभागका प्रधान सचिव डा. प्रदीप कुमारले स्वागत सम्बोधन राखेका थिए।

कार्यक्रममा मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, जिल्ला पञ्चायत अध्यक्ष, गान्तोक नगर निगमका मेयर, उपमेयर, पार्षदगण, विभिन्न विभागका सचिव एवम् विभागीय प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande