रिनाक रुङ्दुङस्थित विश्व विनायक मन्दिरको संरक्षण सम्बन्धी सिक्किम सरकारलाई अनुरोध
अध्यक्ष प्रेम छेत्री खतिवडा


गान्तोक, 15 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) पाकिम जिल्लाले विश्व विनायक मन्दिर वर्तमानमा जीर्ण अवस्थामा पुगेको बताउॅंदै मन्दिरको यथाशीघ्र मरम्मत, संरक्षण तथा पुनः रंगरोगन कार्यका लागि आवश्यक पहल अनुरोध गरेको छ।

भाजपा पाकिम जिल्लाका अध्यक्ष प्रेम छेत्री खतिवडाले पाकिम जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको रुङ्दुङमा अवस्थित विश्व विनायक मन्दिर वर्तमानमा जीर्ण अवस्थामा पुगिसकेको बताएका छन्। उनले वर्ष 2008 मा तत्कालीन मुख्यमन्त्री पवन कुमार चामलिङद्वारा हनुमान जयन्तीका अवसरमा शिलान्यास गरिएको यो मन्दिरको पूर्ण निर्माण सम्पन्न गरी 3 अक्टोबर, 2016 मा उद्घाटन गरिएको जानकारी गराएका छन्।

उद्घाटन पश्चात केही वर्षसम्म मन्दिर राम्रोसँग सञ्चालनमा रह्यो र मन्दिर व्यवस्थापनका लागि समिति पनि गठन गरिएको उनले आज जारी एक प्रेस विज्ञप्तिमा बताएका छन्। यद्यपि, वर्तमानमा मन्दिरको अवस्था निकै जिर्ण भइसकेको छ। मन्दिरको छानाबाट पानी चुहिन थालेको छ, भित्ताका रंगहरू उक्किएका छन्, भित्ताहरू चर्कन थालेका छन् र भुइँसमेत चर्किएको छ। यसबीच विगत 9 वर्षदेखि आजसम्म मन्दिरको कुनै मरम्मत वा पुनः रंगरोगन गरिएको छैन भनी उनले जानकारी गराएका छन्।

उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण मानिने यस विश्वविनायक मन्दिरको गरिमालाई पुनः जीवन्त बनाउन हेतु रिनाकवासीको तर्फबाट सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ समक्ष यस धार्मिक स्थलको यथाशीघ्र मरम्मत, संरक्षण तथा पुनः रंगरोगन कार्यका लागि आवश्यक पहल गरिदिन विनम्र अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande