कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित
कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित


- सुवास दिपक, विक्रम गौतम, दीपा राई र रुपा तामाङ सम्मानित

गान्तोक, 04 जुलाई (हि.स.)। कवि तथा वरिष्ठ पत्रकार प्रवीण खालिङलाई 28औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दन गरिएको छ। राजधानीको चिन्तन भवनमा आज आयोजित पुरस्कार अलङ्करण समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित राज्य शिक्षा एवं खेलकूद विभाग मन्त्री राजु बस्नेतको बाहुलीद्वारा कवि खालिङलाई अभिनन्दित गरियो। कवि खालिङलाई उनको निबन्ध सङ्ग्रह 'चिया गफ' को लागि उक्त परस्कार प्रदान गरिएको हो। पुरस्कार स्वरूप खालिङलाई अंगवस्त्र, स्मृति चिन्ह, प्रशस्ति पत्र र नगद राशि अर्पण गरियो।

डा शोभाकान्ति थेगिम (लेप्चा) मेमोरियल ट्रस्टले आयोजना गरेको उक्त कार्यक्रममा कार्यक्रममा सुवास दिपकलाई पत्रकारिता, दीपा राईलाई चित्रकारिता, रुपा तामाङलाई कला र विक्रम गौतमलाई फिल्म क्षेत्रमा उनीहरूको उल्लेखनीय योगदानको निम्ति ट्रस्टद्वारा सम्मानित गरियो। पुरस्कृत व्यक्तित्वहरूलाई मुख्य अतिथि र आमन्त्रित अतिथिहरूको बाहुलीद्वारा सम्मानित गरियो।

मुख्य अतिथि शिक्षा मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा डा शोभाकान्ति थेगिममाथि बोल्दै उनी सिक्किमलाई अत्यन्तै माया गर्ने छोरी थिइन् भनी बताए। उहॉं जस्ता स्रष्टाको सदैव सम्झना भइरहॅंदा भाग्यमानी ठान्छौं भन्दै उनले डा शोभाकान्ति थेगिम ट्रस्टको कार्यको सराहना गरे।

मन्त्री बस्नेतले हाम्रो इतिहास हामी आफैले लेख्नुपर्छ भन्ने आफ्नो पक्ष राख्दै अहिलेसम्म हामी अरूहरूले लेखिदिएको इतिहासमाथि नै निर्भर रहनु परिरहेको आशय व्यक्त गरे। यस अतिरिक्त, आज पुरस्कृत कवि खालिङले राखेका कुराहरूको उल्लेख गर्दै मन्त्री बस्नेतले पब्लिक स्कूलहरूमा नेपाली भाषा नपढाइनु चिन्ताकै विषय रहेको बताए। उनले हाम्रा नानीहरू परीक्षाहरूमा विशेषगरि गणित, दोस्रो विज्ञान र तेस्रो नेपाली भाषामा फेल हुन्छन्, जुन चिन्ताको विषय हो भने। उनले नानीहरू नेपाली भाषामा किन फेल भइरहेका छन् भन्ने विषयमाथि विभाग र समाजले ध्यान दिनु आवश्यक रहेको मन्तव्य प्रकट गरे।

यस अघि पुरस्कृत कवि खालिङले आफ्नो सम्बोधनमा पाठकको माया सर्वोपरी हुॅंदोरहेछ भन्दै आफ्नो निबन्ध सङ्ग्रह 'चिया गफ' प्रकाशित भएको पॉंच महिनामा 1000 प्रति बिक्री भएको जानकारी गराए। उनले साहित्यकारहरूलाई समाजको दर्पण भनिने गरेको विषयमा बोल्दै साहित्यकारहरूले अब दर्पणपछिका विषयहरूलाई पनि समेट्नु पर्ने स्थिति देखा परिरहेको उनले मन्तव्य राखे।

उनले आफ्नो सम्बोधनमा हामीले आफ्नो इतिहास आफैले लेख्नुपर्छ भन्ने विषयमा जोड दिएका थिए। यस अतिरिक्त, ​कवि खालिङले शिक्षा राज्यका पब्लिक स्कूलहरूमा नेपाली भाषा नपढाइनुप्रति चिन्ता व्यक्त गर्दै शिक्षा मन्त्री बस्नेतको ध्यान आकर्षित गराएका थिए। यसैगरी, उनले अब साहित्यकारहरूले पनि गुणस्तरीय साहित्य लेखनमाथि जोड दिनुपर्छ भन्ने आफ्नो विचार राखेका थिए।

कार्यक्रममा साहित्यकार सुवास दिपकद्वारा अनुवादित पुस्तक 'पानी के रंग ' र साहित्यकार प्रद्युम्न श्रेष्ठद्वारा लिखित 'मनुष्यत्व' (कविता सङ्ग्रह) अतिथिहरूको बाहुलाद्वारा विमोचन गरियो। कार्यक्रममा कवि रञ्जना कार्कीले डा शोभाकान्ति थेगिमद्वारा लिखित कविता 'मेरो देउराली'‌ र आफ्नो स्वरचित कविता वाचन गरेकी थिइन्।

ट्रस्टका अध्यक्ष एवं सभाध्यक्ष डुप छिरिङ लेप्चाले आफ्नो अध्यक्षीय सम्बोधनमा डा शोभाकान्ति थेगिम र स्मृति पुरस्कारमाथि प्रकाश पार्दै कार्यक्रमलाई सफल बनाउन सहयोग प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेका थिए।

कवि मणीका शर्माद्वारा सञ्चालित कार्यक्रममा गायक गणेश ढुङ्गेलले एकल तथा गायकद्वय दिनेश दाहाल र प्रणिता छेत्रीले युगल गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सिक्किमलगायत दार्जिलिङ, कालेबुङ र मिरिकका वरिष्ठ साहित्यकारहरू, विशिष्ट व्यक्तित्वहरू तथा साहित्य अनुरागीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande