बीएसआई र पीएनजी स्कूलले औषधीय बिरुवा बगैँचाको उद्घाटन गरेर वन महोत्सव 2025 पालन गऱ्यो
बीएसआई र पीएनजी स्कूलले औषधीय बिरुवा बगैँचाको उद्घाटन गरेर वन महोत्सव 2025 पालन गऱ्यो


पर्यावरण संरक्षण र स्थिरताका लागि कार्य गर्न विद्यार्थीहरूलाई प्रेरित गरियो

गान्तोक, 04 जुलाई (हि.स.)। भारतीय वनस्पति सर्वेक्षण (बीएसआई), सिक्किम हिमाली क्षेत्रीय केन्द्रले आज 101 वर्ष पुरानो पाल्जर नामग्याल कन्या विद्यालय, गान्तोकका विद्यार्थी र शिक्षकहरूसँग मिलेर भारतको वार्षिक सप्ताहव्यापी वृक्ष महोत्सव वन महोत्सव 2025 पालन गरेको छ।

उत्सवको एक हिस्साको रूपमा, बीएसआईले स्कूलमा जडीबुटी/औषधीय बोटबिरुवाको बगैँचा विकसित गर्यो, जसमा एकोरस केलमस, अमोमम डीलबेटम, एस्क्लेपियास क्यूरासाविका, एस्टिल्बे लिवुलरिस, बर्गनिया सिलियाटा, जिम्नान्थेमस एमिग्डालिनम, हाउटुइनिया कार्डेटा, हाइड्रोकोटाइल हिमालाइका, जस्टिसिया एडहाटोडा, फ्लोगाकान्थस थायरसिफार्मिस, रोहडिया नेपलेन्सिस, टुपिस्ट्रा क्लार्की, भलेरियाना जटामांसी र आर्टेमिसिया डुबिया लगायत 52 प्रजातिका औषधीय बिरुवा प्रदर्शन गरिएको थियो। बगैँचाको उद्घाटन डा. राजीव गोगोई, वैज्ञानिक एफ एण्ड हेड अफ् अफिस, बीएसआई एसएचआरसी र श्री सुजीत सामसन राई, प्रशासनिक प्रमुख, पीएनजी स्कूलले गरेका थिए।

विद्यालय प्रशासनको सहयोगमा बगैँचा निर्माण गरिएको थियो र बीएसआईको टोलीले बिरुवा रोपन भूखण्डलाई सौन्दर्यपूर्ण र प्राकृतिक तरिकाले तयार गर्नका लागि एक सातासम्म योजना बनाएर कड़ा मेहनत गरेको थियो। विद्यार्थी र आगन्तुकहरूलाई सजिलै बुझ्नको लागि वैज्ञानिक नाम र त्यसपछि स्थानीय नाम लेखिएका नाम बोर्ड पनि जडान गरिएको छ।

डा. गोगोईले विद्यार्थीहरूलाई जानकारी दिँदै औषधीय वनस्पतिहरूको महत्त्व र मानव जातिलाई फाइदा पुर्याउने तिनीहरूको क्षमतामाथि जोड दिए। उनले औषधीय वनस्पतिहरूमा उच्च औषधि विज्ञान र उपचारात्मक क्षमता भएका धेरै मेटाबोलाइटहरू हुन्छन्, जुन मानव जातिको हितको लागि प्रयोग गर्न बाँकी रहेको कुरा प्रकाश पारे। उनले विद्यार्थीहरूलाई हजारौँ करोड रुपियाँको बजार सम्भावना भएको हर्बल औषधि बनाउन स्टार्ट-अप सिर्जना गर्न मानसिकता विकास गर्न आग्रह गरे।

यस समारोहमा 180 विद्यार्थीहरूको लागि मिशन लाइफमाथि एक जागरूकता कार्यक्रम पनि सामेल थियो, जसको सञ्चालन बीएसआईका वनस्पति सहायक डा. वसन्त कुमार सिंहले गरे। डा. गोगोईले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै वन महोत्सवको महत्त्व र यस वर्षको विषयवस्तु ‘एक पेड माँ के नाम’ 2.0 माथि जोड दिए, जुन सिक्किम राज्य सरकारको पहल ‘मेरो रुख मेरो सन्तति’ द्वारा प्रतिबिम्बित छ, जसले बिरुवा रोपन र विशेष गरी रोपिएका बिरुवाहरूको हेरचाहको पनि वकालत गर्दछ। डा. गोगोईले जैव विविधताको संरक्षण, जलवायु परिवर्तन र वैश्विक तापक्रमलाई रोक्नका लागि व्यक्तिगत कार्यहरूको महत्त्वमा पनि जोड दिए। उनले भारतका वन पुरुष पद्मश्री जादव पायेङको उदाहरण दिए, जसले एक्लै ब्रह्मपुत्रको बालुवाले भरिएको स्थानलाई वन्यजन्तुहरूले भरिएको घना जङ्गलमा परिणत गरे।

पीएनजी स्कूलकी पीजीटीकी बिनिता शर्माले बगैँचा बनाएको अनि विद्यार्थी र शिक्षकहरूलाई अहिलेसम्म अज्ञात औषधीय बिरुवाहरूबारे जानकारी गराएकोमा बीएसआईलाई धन्यवाद दिइन्। बिरुवा रोपन कार्यक्रम पीएनजी स्कूलका सङ्कायको सहकार्यमा गरिएको थियो।

कार्यक्रममा सजुमा राई, टाशी दिछेन शेर्पा, रञ्जीत छेत्री र गोकुल न्यौपाने लगायत अन्य सङ्कायहरूको उपस्थिति रहेको जानकारी आज पीआईबीले दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande