प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे
प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे


गान्तोक, 04 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले आज राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) का कार्यकारी निर्देशक अशोक कुमार साहासँग गान्तोकस्थित क्षेत्रीय कार्यालयमा बैठक गरे। बैठक सिक्किममा चलिरहेका एनएचआईडीसीएल परियोजनाहरूको प्रगतिमा केन्द्रित रहेको भाजपा सिक्किमले आज प्रेस विज्ञप्तिमा बताएको छ।

बैठकमा प्रदेश अध्यक्ष थापाले मनसुन मौसममा राष्ट्रिय राजमार्गहरूमा यात्रीहरूका लागि न्यूनतम अवरोधहरू सुनिश्चित गर्ने आवश्यकतामा जोड दिए। उनले सिक्किमका बासिन्दाहरूको लागि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्दै मौसमसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न मर्मतसम्भार र समयमै हस्तक्षेपलाई प्राथमिकता दिन एनएचआईडीसीएललाई आग्रह गरे।

विज्ञप्ति अनुसार, प्रदेश अध्यक्ष थापाले हालै सिक्किम भ्रमणको क्रममा यातायात, पर्यटन र संस्कृति सम्बन्धी संसदीय स्थायी समितिका सदस्य एवं कर्नाटकका सांसद विश्वेश्वर हेगडेलाई भेटेका थिए। उनले राजधानी शहरमा भविष्यमा हुने ट्राफिक जामको समस्यालाई सम्बोधित गर्न गान्तोक वरिपरि रिङरोड निर्माणको वकालत गर्दै एक ज्ञापनपत्र बुझाएका थिए। आज साहासँग उनले रिङरोडको महत्त्व दोहोर्‍याउॅंदै यसको सम्भाव्यता र सम्भावित चुनौतीहरूको बारेमा छलफल गरे।

उनले यो परियोजनाले गान्तोकमा ट्राफिक व्यवस्थापन र शहरी गतिशीलतालाई उल्लेखनीय रूपमा बढाउन सक्ने बताए, जसले स्थानीय बासिन्दा र पर्यटक दुवैलाई फाइदा पुर्‍याउने छ। यस अतिरिक्त, प्रदेश अध्यक्ष थापाले सिक्किमको बढ्दो पर्यटन क्षेत्र र आर्थिक विकासलाई सहयोग गर्न दिगो र लचिलो पूर्वाधारको आवश्यकतामाथि प्रकाश पारे। उनले गुणस्तर सुनिश्चित गर्दै परियोजनाको समयसीमा छिटो पूरा गर्न पनि एनएचआईडीसीएललाई अनुरोध गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande