स्रष्टा सङ्गमको आयोजनामा पाद्री गङ्गाप्रसाद प्रधानको 174औं जन्म जयन्ती समारोह सम्पन्न
स्रष्टा सङ्गमको आयोजनामा पाद्री गङ्गाप्रसाद प्रधानको 174औं जन्म जयन्ती समारोह सम्पन्न


खरसाङ, 04 जुलाई (हि.स.)। भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको सिलगढी एकाईको आयोजनामा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ। उक्त समारोह सालबारीस्थित इम्मानुएल चर्चमा मिशन हिमालयका निर्देशक एल्डर दयारत्न प्रधानको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको तस्वीरमा‌ खदार्पणसहित श्रद्धाञ्जली अर्पण गरिएपछि रेभरेन्ट निकानोर शर्माले शुरूको प्रार्थना गरे।

कार्यक्रममा स्रष्टा सङ्गमको उद्देश्य र औचित्य विषयमा पूर्व सचिव एवं वर्तमान संयोजक हनोक थापाले वक्तव्य राखेका थिए। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको‌ जीवनी र योगदान विषयमा विशप डाक्टर हेमन्त काँफ्लेले वक्तव्य राखे। उनले पत्रकारिता र साहित्यमा पाद्री गङ्गाप्रसाद प्रधान कोशेढुङ्गा नै साबित भएको बताए। उनले जुलाई महिनामा पाद्री गङ्गाप्रसाद, आदि कवि भानुभक्त आचार्य, कवि हरिभक्त कटुवाल जन्मेको महिना रहेको पनि जानकारी गराए।

बिशप हेमन्त काँफ्लेले पाद्रीको योगदानको चर्चा हुन आवश्यक छ भन्दै नेपाली भाषीहरुले उनको योगदान र महत्वलाई बुझेर कदर गर्नुपर्छ भनी बताए। पाद्रीले जाति र भाषाको लागि दिएको योगदानलाई जातिगत रुपमा मात्र हेर्नु नहुने, तर अरुमाझ लैजानु पर्ने उनले बताए। उनले पाद्रीलाई इसाईकरण गरेर संकुचित पार्नु नहुने बताउँदै पाद्रीको योगदानलाई अरु समक्ष पनि लैजानु पर्ने आवश्यकतामा जोड दिए।

हेमन्त काँफ्लेले पाद्रीको योगदानलाई हेरेर हामीले गर्व गर्नुपर्छ भन्दै हामीले हाम्रो पाद्री नभनेर हाम्रो जातिको गौरव, जातिको स्रष्टा भनी बताउनु पर्ने विचार राखे। उनले पाद्रीको योगदान जातिको लागि एक गाडधन नै भएको पनि बताए। उनले पाद्रीलाई एक आदर्श मान्नु पर्ने र हामीले पहिला उनलाई चिन्न आवश्यक रहेको बताए।

कार्यक्रममा अध्यक्षको सम्भाषण एल्डर दयारत्न प्रधानले राखेका थिए। उनले आफ्नो सम्बोधनमा पाद्रीले ब्रिटिशलाई खुशी पार्नलाई काम गरेनन्, तर जातिको हितमा ठूलो कार्य गरे भनी बताए।‌ एल्डर दयारत्न प्रधानले भने, उनको दृष्टि कहिले पनि यता उता भएन, जातिको हितमा कार्य गरिरहे। अब आगामी दिनमा पाद्री जयन्ती चर्च र हलबाट बाहिर निकाल्नुपर्छ। पाद्रीमाथि 2-3 महिनामा लागातर चर्चा परिचर्चा गरिनुपर्छ।‌ उनको योगदानको सही रुपमा मूल्याङ्कन हुनुपर्छ र योगदानको चर्चा हुनुपर्छ।

उनले अघि भने, हामीले सम्मान पाउने आशामा होइन तर नि:स्वार्थ भावमा काम गर्नुपर्छ। एका अर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्छ। उनले स्रष्टा सङ्गमलाई बधाई दिॅंदै डा एडोन रोंगोंगले देखेको सपना पूरा भएको महसुस भएको बताउँदै एडोन रोंगोंगले युवाहरु अघि आएर काम गरोस् भन्ने सपना राख्दथे जुन अहिले हेर्दा पूरा भएको देखिएको बताए।

कार्यक्रममा पास्टर ध्रुव जोना राई, प्रणेश प्रधान, संगीता शर्मा आदिले गीत प्रस्तुत गरेका थिए भने पाद्रीद्वारा लिखित गीत जोर्डन प्रेयर टावरद्वारा प्रस्तुत गरे। कार्यक्रममा कर्मु लामा महत, माइकल रुचाल, पिटर थापा 'कोशिष', पास्टर निमा लेप्चा आदिले वाचन गरेका थिए। त्यसरी नै एन्जल छेत्री र सबिना छेत्रीले नृत्य प्रस्तुत गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande