जलपाईगुड़ी, 08 जुलाई (हि.स.)। एकपछि अर्को चिया बगान बन्द हुँदै गइरहेकोले अहिलेघरि डुवर्सका चिया बगानहरूको दशा बिग्रिँदै गइरहेको छ। मगलवार यहाँको फेरि अर्को चिया बगान बन्द भयो। जिल्ला बानरहाट ब्लकस्थित आमबाड़ी चिया बगान अचानक बन्द भयो। अधिकारीहरूले राति अँध्यारोमा नोटिस जारी नगरी बगानलाई बन्द गरिदिए। यसरी अचानक बगान बन्द भएको कारणले दुई हजार श्रमिक परिवारहरूको रोजगार खोसिएको छ।
भनिन्छ, दश दिनको छुट्टीपछि मंगलवार बगानमा काम शुरू भएको थियो। तर बिहान श्रमिकहरू काममा जाँदा अधिकारीहरू बगानमा थिएनन्। बगान बन्द भएको नोटिस नभएको कारण श्रमिकहरू चिन्तित भए। त्यसपछि यो कुरा सबै श्रमिकहरूमा फैलियो। खबर पाउनसाथ चामुर्ची फाँड़ी पुलिस घटनास्थलमा पुग्यो। साथै चिया बगान श्रमिक यूनियन तथा केन्द्रिय कमिटीका नेताहरू पनि पुगे। सबैले चिया बगानलाई चाँड़ै खोल्ने माग गरिरहेका छन्। साथै बगान अधिकारीहरूसित सबै समस्यालाई बातचितको माध्यमबाट सुल्झाउने माग गरिएको छ।
यस सम्बन्धमा जलपाईगुड़ीका डिप्टी लेबर कमिश्नर रतुल भट्टचार्यले भने, चिया बगान अधिकारीहरूले हामीलाई यस सम्बन्धमा कुनै पत्र दिएका छैनन्। तथापि हामीले आगामी दुई दिन भिन्न-भिन्न बैठकहरू डाकेका छौं। पहिलो दिन मालिकसित अनि दोस्रो दिन मालिक अनि श्रमिक संगठनहरूसित बैठक हुनेछ। उनले यो पनि भने, स्थितिमाथि निगरानी राखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा