गान्तोक, 08 जुलाई (हि.स.)। युनाइटेड आर्म रेस्लिङ एसोसिएशन अफ् सिक्किमका खेलाडीहरूले आगामी 43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा भाग लिइरहेको छ। उक्त प्रतियोगितामा भाग लिन इच्छुक राज्यका खेलाडीहरूलाई संघसॅंग सम्पर्क गर्न आह्वान गरिएको छ।
युनाइटेड आर्म रेस्लिङ एसोसिएशन अफ् सिक्किमका अध्यक्ष गणेश कुमार सुब्बाले 43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिप आगामी 30 जुलाई र 1 अगस्त, 2025 मा गुवाहाटीमा आयोजना भइरहेको जानकारी गराए। उनले उक्त प्रतियोगितामा सिक्किम राज्य टोलीले पनि भाग लिइरहेको जानकारी गराउॅंदै इच्छुक खेलाडीहरूलाई अघि आउन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आह्वान गरे।
इच्छुक खेलाडीहरूले 15 देखि 20 जुलाईसम्ममा सम्पर्क गर्नुपर्ने बताउॅंदै राज्य टोली 27 जुलाईमा यहॉंबाट प्रस्थान गर्ने उनले जानकारी गराए। अध्यक्ष सुब्बाले गत वर्ष गेजिङमा आयोजित राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा दोस्रो स्थान प्राप्त गरेको अवगत गराए। उनले यसपाली पनि राज्य टोलीले राम्रो प्रदर्शन गर्ने र राज्यको नाम रोशन गर्ने विश्वास व्यक्त गरे।
यस अतिरिक्त, अध्यक्ष सुब्बाले आगामी अक्टोबर महिनामा राजधानीको एमजी मार्गमा आर्म रेस्लिङको खुल्ला प्रतियोगिता आयोजना गर्ने बताए। उनले आर्म रेस्लिङ अहिले ओलम्पिक खेलमा सामेल नरहे तापनि निकट भविष्यमा अवश्य पनि ओलम्पिक खेलहरूमा सामेल हुने विश्वास व्यक्त गरे। उनले आर्म रेस्लिङलाई पनि अन्य खेलहरू सरह बिना भेदभाव समान समर्थन प्रदान गरिदिन खेल विभाग समक्ष अनुरोध गरे।
यस अघि पेमा दाेर्जी भाेटिया, संघका महासचिव अमित न्यौपाने, कोषाध्यक्ष मधु लिम्बू र सदस्य बिनोद दर्नालले पनि आफ्ना विचारहरू साझा गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल