पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा
आईआरबीको स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री।


माङ्गले, 06 मार्च (हि.स.)। तेस्रो इन्डिया रिजर्भ बटालियन (आईआरबी) को स्थापना दिवस समारोह २०२६ आज माङ्गलेस्थित मुख्यालयमा भव्यताका साथ आयोजन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसरी नै सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, क्याबिनेट मन्त्रीहरू, विधायकगण, डीजीपी अक्षय सचदेव लगायत अन्यहरू उपस्थित थिए।

मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै तेस्रो आईआरबीलाई १८ वर्षको सेवा सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिए। उनले पुलिस कर्मीहरूले गरेको भौतिक प्रदर्शन र सांस्कृतिक प्रस्तुतिहरूको प्रशंसा गर्दै यसले सिक्किम पुलिसको प्रतिभा, अनुशासन र प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताए।

आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले तेस्रो आईआरबी मुख्यालय माङ्गलेमा जिम्नेजियम हल, बहुउद्देश्यीय हल, स्विमिङ पुल र फायरिङ रेन्ज लगायतका पूर्वाधार सुविधाहरू निर्माण गर्ने घोषणा गरे। यसैगरी, उनले सञ्चालन क्षमतालाई अझ सुदृढ पार्न पुलिस विभागलाई ५५ वटा सवारी साधन उपलब्ध गराउने घोषणा गरे। यसका साथै, मुख्यमन्त्रीले पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने पनि घोषणा गरे।

मुख्यमन्त्रीले पुलिस कर्मीहरूलाई आफ्नो निजी सवारी साधनमा पुलिस चिन्ह नराख्न सल्लाह दिॅंदै आफ्नो अधिकारको दुरुपयोग नगर्न आग्रह गरे। उनले देशकै सबैभन्दा कम अपराध दर मध्ये एक राज्यका रूपमा कायम राखेकोमा पुलिस विभागको प्रशंसा गरे, साथै यो उपलब्धिको लागि राज्य पुलिसले राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको पनि बताए।

सरकारले विभिन्न विभागहरूमा क्याडर समीक्षा गरेको र बाँकी रहेका विभागहरूको लागि थप क्याडर समीक्षालाई प्राथमिकताका साथ लिइने बताए। मुख्यमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक प्रविधिलाई अँगाल्न पनि आग्रह गरे। उनले सिक्किममा म्याराथनको बढ्दो लोकप्रियतालाई पनि प्रकाश पारे र यस्ता कार्यक्रमहरूले अन्तरराष्ट्रिय, राष्ट्रिय र स्थानीय सहभागीहरूलाई आकर्षित गर्ने, खेलकुद र फिटनेसलाई प्रवर्द्धन गर्ने, युवा सहभागितालाई प्रोत्साहित गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande