
गान्तोक, 06 मार्च (हि.स.)। आगामी सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव (एसआईएफएफ) को तयारीको क्रममा आज सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) ले सिक्किमका फिल्म जगतका प्रतिनिधिहरूसँग गान्तोकको सूचना भवनको सम्मेलन हलमा दोस्रो समन्वय बैठक आयोजना गर्यो। यो महोत्सव आगामी १९ देखि २२ मार्चसम्म राजधानीमा आयोजना हुने तय भएको छ।
बैठकमा आईपीआरका अध्यक्ष आशित राई, सिक्किम फिल्म प्रोमोशन बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, आईपीआरकी सचिव अन्नपूर्ण आले, आईपीआरका निर्देशक सुनिल मोथे, प्रख्यात फिल्म निर्माता प्रशान्त रसाइली, साम्तेन भोटिया र त्रिवेणी राईलगायत राज्यका फिल्म जगतका अन्य सदस्यहरू उपस्थित थिए।
आईपीआरका अध्यक्ष राईले एसआईएफएफ आयोजनाको महत्वको बारेमा जानकारी गराउँदै कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवालाहरूबाट सामूहिक प्रयासको लागि आह्वान गरे। उनले महोत्सवको सुचारु सञ्चालनको लागि निर्णायक मण्डल र विभिन्न समितिहरूको गठन मार्फत चलचित्र जगतका सदस्यहरूबीच एकता र सक्रिय सहकार्यको आवश्यकतामा जोड दिए।
सिक्किम फिल्म प्रोमोशन बोर्डका अध्यक्ष भोटियाले चलचित्र उद्योगको कल्याण र विकास राज्य सरकारको प्राथमिकता रहेको बताए। उनले महोत्सवका लागि गरिएका पहलहरू केवल कार्यक्रममा मात्र सीमित नभई दीर्घकालीन रूपमा उद्योगलाई फाइदा पुर्याउन जारी राख्नुपर्ने विचार व्यक्त गरे।
मुख्यमन्त्रीका प्रेस सचिव तामाङले महोत्सवको लागि राज्य सरकारको पूर्ण समर्थन प्रदान व्यक्त गर्दै कार्यक्रमको सफल समापन नभएसम्म समन्वय बैठकहरूको श्रृंखला जारी रहने जानकारी गराए। उनले सिक्किमलाई चलचित्रको हिमालयी राजधानीको रूपमा स्थापित गर्ने दृष्टिकोणको बारेमा बताए।
फिल्म निर्माता भोटियाले महोत्सवको अभिन्न अंग वेभ्स बजारको महत्वको बारेमा बोल्दै यसले उदीयमान फिल्म निर्माताहरूलाई मात्र नभई अनुभवी पेशेवरहरूलाई पनि अवसर प्रदान गर्ने बताए। फिल्म निर्माता राईले स्थानीय फिल्म निर्माताहरूलाई सम्भावित सहयोगीहरू र निर्माताहरूलाई प्रभावकारी रूपमा आफ्ना परियोजनाहरू प्रस्तुत गर्न मद्दत गर्न कार्यशालाहरू आयोजना गर्न सुझाउ दिइन्। यसैगरी, फिल्म निर्माता रसाइलीले राज्यमा फिल्म निर्माताहरूको लागि बलियो जग निर्माण गर्ने आवश्यकतामा जोड दिए। उनले फिल्म नीतिको महत्त्व र उद्योगलाई उपलब्ध फाइदाहरूको बारेमा बढी जागरूकतामाथि पनि जोड दिए।
बैठकमा डा. मनोज राईलाई फिल्म मार्केट प्रमुख संयोजकको रूपमा चयन गरियो। यसरी नै बैठकमा छोटो फिल्म प्रतियोगिता (सिक्किम श्रेणी), पूर्वावलोकन समिति (सिक्किम अध्याय), क्युरेट गरिएका फिल्महरूको लागि पूर्वावलोकन समिति र पिचिङ पूर्वावलोकन समितिका लागि निर्णायक मण्डलका सदस्यहरूलाई पनि अन्तिम रूप दिइयो।
हिन्दुस्थान समाचार / बिशाल