गान्तोक, 09 जुलाई (हि.स.)। भाषा सङ्ग्रामी तथा सिक्किमकी पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीले नेपाली साहित्य परिषद् सिक्किमद्वारा वर्ष 2025 को भानु पुरस्कारका निम्ति वरिष्ठ साहित्यकार शङ्करदेव ढकाललाई चयन गरेकोमा हर्ष व्यक्त गरेकी छन्। नेपाली भाषा मान्यताको संघर्षकालमा ढकालको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै श्रीमती भण्डारीले त्यस समय प्रतिकुल परिस्थिति हुँदा-हुँदै पनि दिल्लीबाट प्रथमपल्ट ‘बिजुवा’ नामक साहित्यिक पत्रिका प्रकाशन गरेर साहित्यकार ढकालले नेपाली भाषा-साहित्यको सेवामा सराहनीय एवम् प्रशंसनीय कार्य गरेको बताएकी छन्।
साहित्यकार ढकालको योगदानको कदर गर्दै राज्यको शिर्षस्थ पुरस्कारले सम्मानित गर्ने निर्णय लिएर नेपाली साहित्य परिषद् सिक्किमले सराहनीय कार्य गरेको श्रीमती भण्डारीले बताएकी छन्। उनले भानु पुरस्कार प्रापक ढकाललाई अग्रिम बधाईसँगै शुभकामना व्यक्त गरेकी छन्।
हिन्दुस्थान समाचार / बिशाल