नाम्ची, 09 जुलाई (हि.स.)। नाम्ची जिल्लाअन्तर्गत सहकारी विभाग, नाम्चीको तत्वावधानमा माम्ले बहुउद्देशीय सहकारी संस्थाको आयोजनामा 41 माम्ले ग्राम पञ्चायत परिसरको तिरिखोला ब्ल्याक स्पट वरिपरी 'एक पेड माँ के नाम' मा बिरुवा रोपण कार्यक्रम सम्पन्न गरियो। सिक्किम राज्य स्थापनाको 50 औँ वर्षगाँठ मनाउन र अन्तरराष्ट्रिय सहकारी वर्ष मनाउन संस्थाले बिरुवा रोपण कार्यक्रम आयोजना गरेको थियो।
पञ्चायत सभापति कृष्णकुमार मंगरले अध्यक्षता गरेको बिरुवा रोपण कार्यक्रममा छामगाउँ, अप्पर माम्ले, डाँडागाउँ डोलिङ, लोवर माम्ले र नाङदाङ वार्डका पञ्चायतगण, सहकारी बहुउद्देशीय सहकारी संस्थाका पदाधिकारीगण र सदस्यगण, सहायक सहकारी निरीक्षक, ग्राम प्रशासनिक सहायक, समाज कल्याण निरीक्षक, ग्राम प्रशासनिक केन्द्रका आपदा व्यवस्थापन विभाग, बागवानी तथा कृषि विभाग, योजना विकास विभागका सम्पूर्ण कर्मचारीवर्ग र गाउँलेहरूको विशेष उपस्थिति रहेको थियो।
पञ्चायत सभपतिले सिक्किम सरकार अनि सहकारी विभागलाई यो पहलको निम्ति आभार प्रकट गरे। यस कार्यक्रमको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै हरेक व्यक्तिले आफ्नो आमाको नाममा एउटा बिरुवा रोपेर सम्मान व्यक्त गर्छन्, जसले पर्यावरणको सुरक्षा साथै समृद्ध भविष्य निर्माण गर्नमा योगदान पुऱ्याउँछ भनी बताए।
सहायक सहकारी निरीक्षकको पहलमा वन विभाग नाम्चीद्वारा उपलब्ध गराइएका बिरुवाहरूलाई उपस्थित सबैले आ-आफ्नो आमाको नाममा रोपेको जानकारी संस्थाकी प्रबन्धक जीएम मंगरले दिएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल