चेयरपर्सन र ओएसडीका रूपमा नवनियुक्त 12 जना एसएचजीका सदस्यहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
एसएचजी सदस्यहरद्वारा पत्रकार सम्मेलन


यो नियुक्ति वर्तमान सरकारको प्रगतिशील पहल: छुमिला भोटिया

गान्तोक, 09 जुलाई (हि.स.)। सिक्किम सरकारले हालैमा विभिन्न विभाग, बोर्ड र संगठनहरूमा सल्लाहकार, चेयरपर्सन र आएसडीहरू नियुक्त गरेका छन्। यसमा 12 जना स्वयं सहायता समूह (एसएचजी) का सदस्यहरू पनि सामेल छन्। चेयरपर्सन र ओएसडीका रूपमा नवनियुक्त 12 जना एसएचजीका सदस्यहरूले आज राजधानीमा एक पत्रकार सम्मेलन आयोजन गरेर राज्यका मुख्यमन्त्रीप्रति आभार प्रकट गरेका छन्।

नवनियुक्त चेयरपर्सन र ओएसडीहरूको पक्षमा बोल्दै नवनियुक्त चेयरपर्सन (पीएचई) छुमिला भोटियाले 2024 मार्चमा जोरथाङमा आयोजित एसएचजीहरूको ऐतिहासिक सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले छवटा जिल्लाबाट एसएचजीका 12 जना सदस्यहरूलाई चेयरपर्सन अथवा सल्लाहकार बनाउने ऐतिहासिक घोषणा गरेको स्मरण गराउॅंदै आज मुख्यमन्त्रीले आफ्नो वचन पूरा गरेको बताइन्। उनले यो नियुक्ति एसएचजीका 12 जना सदस्यहरूको मात्र होइन, तर एसएचजीसॅंग सम्बद्ध 55 हजार महिलाहरूको नियुक्ति रहेको ठहर गरिन्।

नवनियुक्त चेयरपर्सन भोटियाले यो नियुक्तिले इतिहास कायम गरेको छ भन्दै यो सम्मान एसएचजीमा संलग्न देशका करोडौं महिलाहरूले पाएको सम्मान हो भनिन्। उनले महिलाहरूलाई दिइने बहुमूल्य उपहार भनेको नै इज्जत र सम्मान रहेको बताउॅंदै विशेषगरि ग्रामीण महिलाहरूले यो सम्मान र इज्जतको उपहार पाएको महसुस गरिरहेको मन्तव्य व्यक्त गरिन्।

उनले पहिले एसएचजीलाई लाचार, असक्षम र विचाराको रूपमा गन्ती गरिन्थ्यो भने 2019 मा एसकेएम पार्टीको सरकार गठन भएपछि एसएचजीहरू सक्षम र वित्तीय रूपमा स्वतन्त्र बनेको दाबी गरिन्। उनले एसएचजीको उद्देश्य वित्तीय अवसरहरू सृजना गर्नु र विशेष रूपमा ग्रामीण क्षेत्रका महिलाहरूलाई आजीविका प्रदान गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर बनाउनु रहेको बताइन।

उनले अझै पनि धेरै महिलाहरू वित्तीय रूपमा स्वतन्त्र छैनन् भन्दै उनीहरूले विभिन्न विभिन्न समस्याहरू झेल्नुका साथै आफ्नो पहिचान समेत गुमाउनु पर्ने स्थिति रहेको बताइन्। उनले महिलाहरू वित्तीय रूपमा स्वतन्त्र नबने उनीहरूले आत्मविश्वास गुमाउॅंछन् र घरभित्र जीवन बिताउनु पर्नेछ भनी बताइन्। उनले एसएचजीहरूले ठूला ठूला उद्योगहरू स्थापना गर्नु नसके तापनि आज वित्तीय रूपमा कसैमाथि निर्भर रहनु पर्ने स्थिति नरहेको बताइन्।

उनले यस नियुक्तिलाई वर्तमान सरकारको प्रगतिशील पहल ठहर गर्दै मुख्यमन्त्रीप्रति हार्दिक आभार प्रकट गरिन्। उनले यो नियुक्तिलाई आफूहरूले जिम्मेवारीका रूपमा लिएको र यस जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वहन गर्ने बताइन्। उनले आगामी दिनहरूमा एसएचजीको संवर्धन र प्रवर्द्धनको लागि निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande