तकदाहको इञ्जिनियरिङ कलेज सम्पूर्ण जीटीए क्षेत्रको निम्ति ठूलो उपलब्धि: कल्पना प्रधान
तकदाहको इञ्जिनियरिङ कलेज सम्पूर्ण जीटीए क्षेत्रको निम्ति ठूलो उपलब्धि: कल्पना प्रधान


खरसाङ, 01 सेप्टेम्बर (हि.स.)। हालै उद्घाटन गरिएको तकदाहको डीएचआईएम इञ्जिनियरिङ कलेज सम्पूर्ण जीटीए क्षेत्रको निम्ति ठूलो उपलब्धि रहेको जीटीएको महिला तथा शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानले जनाएकी छन्। उनले यसको निम्ति जीटीए प्रमुख अनित थापा अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट पनि गरेकी छन्।

कार्यकारी सभासद कल्पना प्रधानले जीटीए प्रमुख अनित थापाको असल सोच अनि कुशल नेतृत्वले गर्दा आज पहाडमा यस प्रकारको विकासहरू भइरहेको जनाइन्। आज पहाड शान्ति छ र नै यस प्रकारको विकास भइरहेको छ भन्दै उनले शिक्षा, स्वास्थ्य आदि जस्ता क्षेत्रहरूको उन्नतिलाई लिएर जीटीए प्रमुख अत्यन्तै चिन्तित रहने गरेको पनि उल्लेख गरेकी छन्।

प्रधानले पहाडमा अब यस्ता कलेज तथा महाविद्यालयहरू स्थापित भएकाले हाम्रा स्थानीय विद्यार्थीहरू धेरै पैसा खर्च गरेर बाहिर पढ्न जान नपर्ने बताउँदै तर यस्ता कलेज तथा महाविद्यालयहरूतिर भर्ना पाउन उनीहरूले पनि मेहनत गरेर पढ्नुपर्छ भनी आग्रह गरेकी छन्।

उनले यस वर्ष चिया श्रमिकहरूको बोनसको दर पनि बीस प्रतिशत गराउन जीटीए प्रमुख सक्षम भएको जनाउँदै यसको निम्ति पनि उनले राज्यको श्रम मन्त्रालय अनि जीटीए प्रमुखलाई सम्पूर्ण चिया श्रमिकहरूको पक्षबाट धन्यवाद दिएकी छन्। उनले उनीहरूको यो सहयोगको निम्ति सबै श्रमिकहरूले पनि धन्यवाद दिनुपर्छ भनी बताएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande