सोनादामा 'पुलिस डे' को अवसरमा ट्राफिक सचेतनाको लागि बाइक ऱ्याली र म्याराथन सम्पन्न
सोनादामा 'पुलिस डे' को अवसरमा ट्राफिक सचेतनाको लागि बाइक ऱ्याली र म्याराथन सम्पन्न


सोनादा, 01 सेप्टेम्बर (हि.स.)। सोनादा ट्राफिक पुलिस अनि सोनादा पुलिस आउट पोष्टको आयोजनामा सोमवार 'पुलिस डे' को अवसरमा जोरखोलादेखि आठ माइलसम्म बाइक ऱ्याली साथै म्याराथनको आयोजना गरिएको छ। उक्त बाइक ऱ्यालीमा सोनादा क्षेत्रका युवाहरु साथै विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यसका साथै, सलेशियन कलेज र हाई स्कूलका विद्यार्थीहरु, एनएच 10 का राईडरहरु, प्रिमुस भोटिया, पञ्चायत सदस्य, कोरियर सेवाका कर्मचारीहरु लगायत स्थानीयहरुले भाग लिएका‌ थिए‌।

यस कार्यक्रमको प्रमुख अतिथि प्रिमुस भोटिया रहेका थिए‌। कार्यक्रममा सोनादा ट्राफिक पुलिसका प्रभारी सबिन दर्नाल, सोनादा पुलिस आउट पोष्टका प्रभारी योगेस ठकुरी साथै पुलिस कर्मचारीहरु र सिभिक भोलेन्टियरहरु उपस्थित रहेका थिए। उक्त ऱ्यालीको आयोजना गर्नुको मुख्य उद्देश्य सेफ ड्राइभ सेभ लाइभ अन्तर्गत जागरुकता फैलाउनु र सोनादा क्षेत्रलाई ड्रग्समुक्त बनाउन रहेको थियो।

उक्त सचेतना ऱ्याली र म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक पुलिसका प्रभारी सबिन दर्नालले सोनादा ट्राफिक पुलिस र सोनादा पुलिस आउट पोष्टको आयोजनामा सेफ ड्राइभ सेभ लाइभ अन्तर्गत सचेतनाको लागि म्याराथन साथै बाइक ऱ्यालीको आयोजना गरिएको बताए। उनले ट्राफिक नियमहरु सबैले‌ पालन गरुन् र जनता समक्ष यो‌ सन्देश प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको बताए।

यसैगरी, प्रमुख अतिथि भोटियाले सोनादा ट्राफिक पुलिस र पुलिस आउट पोष्टको आयोजनामा गरिएको सचेतना कार्यक्रमको सराहना गरे। उनले आफूले कुदेर जनतालाई जनचेतना फैलाउने कार्य गरिरहेको बताउँदै ट्राफिक नियम पालन गर्दा जनता सुरक्षित रहने र यस पहललाई जनताले बुझ्नु आवश्यक रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande