एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग


गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पार्टीका उपाध्यक्ष तथा मजदुर मोर्चा प्रभारी अरुण लिम्बूलाई विभिन्न अनावश्यक धाराहरू लगाएर पक्राउ गरिएको छ भन्दै घोर भत्सर्ना जनाएको छ।

एसडीएफ प्रचार प्रसार वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलले आज विज्ञप्तिमा एसकेएम सरकारमाथि प्रजातान्त्रिक व्यावस्था र देशको संविधानले प्रदान गरेको वाक स्वतन्त्रता खोस्ने आरोप लगाउॅंदै निन्दा गरेका छन्। उनले संविधान र कानुनभन्दा माथि कोही हुॅंदैनन् भन्दै पुलिस प्रशासनलाई देशको संविधान र विधिको शासन अनुसार काम गर्न सचेत गराएका छन्।

एसडीएफ नेताले शासनमा भएका गल्ती र नेताले गरेका गल्तीहरू औंल्याउने नागरिकको कर्तव्य हो र सरकारले त्यस सम्बन्धमा जनतासँग जवाफदेही बन्नु लोकतान्त्रिक व्यवस्थाको गहना हो भनेका छन्। तर, यसरी वाक स्वतन्त्रता खोसेर मुखरित आवाजहरुलाई प्रशासन लगाएर दबाउने काम लोकतन्त्र विरोधी रहेको उनले बताएका छन्। उनले युवा नेता अरुण लिम्बूलाई बिनासर्त रिहा गरिनुपर्छ भनी माग पनि गरेका छन्।

उल्लेखनीय छ, एसडीएफ नेता अरुण लिम्बू विरुद्ध सदर थानामा प्राथमिकी दर्ता भएको छ। लिम्बूमाथि राज्यका मुख्यमन्त्री र उनकी धर्मपत्नी विरुद्ध अपमानजनक भिडियो प्रचार प्रसारमा ल्याएको आरोप छ। साथै, उनीमाथि सिक्किमलाई नेपालको वर्तमान हिंसात्मक विद्रोहसॅंग तुलना गरेर विद्रोहको लागि उक्साएको आरोप पनि लागेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande