भारतीय राज्य ब्याङ्कद्वारा गेजिङमा डीसीसी र डीएलआरसी बैठक सम्पन्न
भारतीय राज्य ब्याङ्कद्वारा गेजिङमा डीसीसी र डीएलआरसी बैठक सम्पन्न


गेजिङ, 16 सेप्टेम्बर (हि.स.)। भारतीय राज्य ब्याङ्क (एसबीआई) को अगुवाइमा गेजिङ जिल्लामा जिल्ला परामर्श समिति (डीसीसी) तथा जिल्ला स्तरीय समीक्षा समिति (डीएलआरसी)-को संयुक्त बैठक सम्पन्न भएको छ। बैठक ३० जून, २०२५ मा समाप्त त्रैमासिक अवधिका गतिविधिहरूको समीक्षा गर्न आयोजना गरिएको थियो।

गेजिङका अतिरिक्त जिल्लापाल सुरेश राईको अध्यक्षतामा आयोजन गरिएको बैठकमा १३ जून, २०२५ का दिन गेजिङमा सम्पन्न डीसीसी-को अघिल्लो बैठकका कार्यवृत्तहरूको पुष्टि गरियो। त्यसपछि, अघिल्लो बैठकबाट उठेका कार्यसूची बुँदाहरूको प्रगतिको समीक्षा गरियो।

अतिरिक्त जिल्लापाल राईले ब्याङ्क सेवाहरू मानिसको घर दैलोमा पुग्नुपर्ने र विभिन्न योजनाबारे जनतालाई अवगत गराइनुपर्ने आवश्यकता औँल्याए। ब्याङ्कले जिम्मेवारीअनुसार ध्यानपूर्वक काम गर्नुपर्ने कुरामा पनि उनले जोड दिए।

बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा विशेष छलफल गरिएको थियो। जिल्लाको क्रेडिट-डिपोजिट अनुपात (सीडी रेसियो), प्राथमिक क्षेत्रअन्तर्गत वार्षिक ऋण योजना (एसीपी)-को प्रगति तथा सरकार प्रायोजित योजनाहरू जस्तै पीएमजेजेबीवाई, पीएमएसबीवाई र पीएमजेडीवाई-को कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरियो।

कृषि क्षेत्रको सशक्तिकरणतर्फ केन्द्रित हुँदै किसान क्रेडिट कार्ड (केसीसी)-को वितरण सन्दर्भमा ब्याङ्कहरूको भूमिका र प्रगति प्रस्तुत गरिएको थियो। साथै आवास ऋण योजना, शैक्षिक ऋण र अन्य कार्यक्रमहरूबारे पनि चर्चा गरियो।

उपस्थित सबै पक्षले जिल्ला स्तरमा वित्तीय समावेशिता र ऋण पहुँचलाई अझ प्रभावकारी बनाउन आ-आफ्नोतर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने महत्त्वमा जोड दिँदै बैठक समापन भयो।

बैठकमा एसडीएम (मुख्यालय) पुलकित, एलडीओ (आरबीआई गान्तोक) पारज नागदेन, कृषि विभागका उप-निर्देशक डा. कर्म छोङ भोटिया, एपीएम (एसआरएलएम गेजिङ) केएन शर्मा लगायत गेजिङ जिल्लाअन्तर्गत विभिन्न ब्याङ्कका प्रबन्धक तथा शाखा प्रमुखहरूको उपस्थिति डीआईओ गेजिङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande