सोरेङ, 16 सेप्टेम्बर (हि.स.)। सोरेङ जिल्ला अन्तर्गत नयॉं बजार पुलिस स्टेशनले नाम्चीको तिङरिथाङबाट हराएका तीन नाबालिग केटाहरूको पत्ता लगाएर उनीहरूको सफलतापूर्वक उद्धार गरेको छ। आज, 16 सेप्टेम्बरका दिन नाबालिग केटाहरू हराएको सूचना प्राप्त भएको घण्टा नबित्दै पुलिसले उनीहरूको उद्धार गरेको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षकद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, नाम्ची पुलिस स्टेशनबाट तीन जना नाबालिग केटाहरू हराएको सूचना पाउन साथ क्षेत्रीय अधिकारीहरूलाई सतर्क निगरानीका लागि सक्रिय गरियो। रमाम चेकपोस्टमा सक्रिय ड्युटीमा रहेका पुलिस कर्मचारीहरूले आफ्नो समर्पण र व्यावसायिकताको उच्च स्तर प्रदर्शन गर्दै रमाम चेकपोस्टमा हराएका नाबालिक केटाहरूलाई रोके। उनीहरूले पैदलै अन्तरराज्यीय सीमा पार गर्ने प्रयास गरिरहेका थिए।
कक्षा दशमा अध्ययनरत नाबालिग केटाहरू कामको खोजीमा घरबाट निक्लिएका थिए। नाम्ची पुलिसका अधिकारीलाई जानकारी गराएर परामर्श दिएपछि नाबालिगहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको छ।
राहत पाएका अभिभावकहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नयाँ बजार पुलिस टोलीको तत्काल प्रतिक्रिया, समर्पण र उच्च स्तरको सेवाको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। सोरेङ जिल्ला पुलिसले सबै नागरिकहरू, विशेष गरी नाबालिगहरूको कल्याणको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ। पुलिस अधीक्षकले यस अभियानमा सक्रिय रूपमा संलग्न पुलिस कर्मचारीहरूलाई बधाई दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल